एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान : पहिलो कार्यक्रम ‘हेल्लो डाक्टर’ शुरू

news-details

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नया भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ अभियानको थालनी गरेको छ ।

एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान अन्र्तगत पहिलो कार्यक्रमको रूपमा आजबाट ‘हेल्लो डाक्टर’को शुभारम्भ भएको र एफएनसीसीआई अपरेशन कोभिड रिलिफ अभियान अन्तरगत थप अन्य कार्यक्रमहरू समेत ल्याउने महासंघले जनाएको छ ।

महासंघद्वारा संचालनमा ल्याइएको हेल्लो डाक्टर कार्यक्रममा भाइवरको सहकार्य रहेको र डाक्टर अन कलका चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने महासंघले जानकारी दिएको छ ।

हेल्लो डाक्टरमार्फत स्वास्थ्य परामर्श दिने कार्य वैशाख २६ गते आइतबारबाट शुरु हुने जनाउदै महासंघले कोभिड संक्रमित भई घर वा आइशोलेशनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरूले हेल्लो डाक्टर मार्फत भरपुर सहयोग लिन सक्ने जानकारी दिएको छ ।

हेल्लो डाक्टर कार्यक्रममा भाइवरमार्फत कोभिड संक्रमित विरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने छ । प्रारम्भमा ५ जना डाक्टरहरूबाट परामर्शको कार्य थालनी गरिने जानकारी दिदै महासंघले त्यसका लागि विहान ९ बजे देखि १२ बजेसम्म र दिउसो ३ बजेदेखि ६ बजेसम्मको समयमा सेवा लिन चाहने संक्रमितले नाम दर्ता गर्नुपर्ने जनाएको छ ।

नाम दर्ता गर्न विरामीले २११११२११११ भाइवर नम्वरमा म्यासेज गर्नुपर्ने र सोही म्यासेजका आधारमा डाक्टरसंगको परामर्शको समय विरामीलाई पठाइने जनाइएको छ । तत्पश्चात डाक्टरहरूले भिडियो कलमार्फत विरामीहरूसंग संवाद गरी स्वास्थ्य परामर्श दिने छन् ।म्यासेजमा विरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने र देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्ने महासंघले जनाएको छ ।

रोग संक्रमितहरूलाई प्रविधिको प्रयोगमार्फत डाक्टरहरूसंग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपतकालिन अवस्थामा बाहेक अस्पतालसम्म जान नपर्ने वातावरण बनाईदिने उद्देश्य अनुरुप यो कार्यक्रमको थालनी गरिएको र यसबाट कोभिड संक्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास लिएको महासंघले जनाएको छ ।

हेल्लो डाक्टरमार्फत सिधै डाक्टरसंग परामर्श गर्न पाइने हु“दा कोभिड संक्रमित विरामीमा देखिने चिन्तालाई कमी गर्न र विरामीको आत्मबल बढाउन सहयोग पुग्ने दावी महासंघका अध्यक्ष शेखर गोल्छाको छ । महासंघले थालनी गरेको यो स्वास्थ्य अभियानबाट बढी भन्दा बढी लाभ उठाउन अध्यक्ष गोल्छाले सबैमा अनुरोध गर्नु भएको छ । आम सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउने कार्यमा महासंघले अग्रभागमा रहेर सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत अध्यक्ष गोल्छाले जनाउनु भएको छ ।

मुलुकले कहिल्यै भोग्नु नपरेको यो महामारीबाट संक्रमित र मृत्यु हुनेको संख्या हरेक दिन नयां रेकर्ड राख्दै बढीरहेको छ । महामारिको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम कर्तव्य भएकाले आआफ्नो ठाउंबाट यस अभियानमा सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन पनि महासंघले सबैमा गम्भीर आग्रह गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *