कोरोना प्रभावित उद्योगलाई पुन:उत्थानका लागि नीतिगत व्यवस्था गर्न माग

news-details

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड प्रभावित उद्योगलाई पुर्नउत्थान र पुनःसञ्चालनका लागि नीतिगत एवं कार्यगत संंरक्षणको आवश्यकता रहेकामा जोड दिएको छ ।

महासङ्घको उद्योग समितिका सभापति भरतराज आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले आज उद्योग विभागका महानिर्देशक जीवलाल भुसाललाई भेट गरी उद्योग क्षेत्रमा आपसी सहकार्यका विषयमा छलफल गरेको थियो । सो अवसरमा सभापति आचार्यले महासङ्घको उद्योग समितिका कार्य क्षेत्र एवं समितिका आगामी कार्ययोजनाबारे जानकारी गराए ।

भेटवार्तामा उद्योगको लागि आवश्यक जग्गा प्राप्तिलाई सहज गरिनुपर्ने, एकल विन्दु सेवाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, स्वदेशी उद्योगको संरक्षण गर्न सार्वजनिक खरिद नियमावलीको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने माग राखेको थियो ।

उद्योगका लागि आवश्यक पूर्वाधारको सरल र भरपर्दो व्यवस्था हुनुपर्ने, जनशक्ति विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन र सहयोग गर्नुपर्ने, औद्योगिक व्यवसाय ऐन कार्यान्वयन गर्ने सम्बन्धमा देखापरेका व्यावहारिक एवं संस्थागत कठिनाइका बारेमा विभाग र महासङ्घबीच कार्यदल गठन गरी सुझाव सङ्कलन गर्नुपर्नेमा जोड दिइएको छ ।

उद्योग क्षेत्रको सङ्ख्यात्मक एवं गुणात्मक अध्ययन गर्न आवश्यक रहेकाले त्यसका लागि आपसी सहकार्य गर्नेलगायत सुझाव राखिएको महासङ्घले जनाएको छ ।

विभागका महानिर्देशक भुसालले महासङ्घसँग नजिकमा रहेर कार्य गर्न विभाग तयार रहेको जायज मागहरु सम्वोधन गर्दै जाने विश्वास दिलाए ।

उनले एकल विन्दु सेवालाई प्रभावकारी बनाउन छाता ऐन आवश्यक भएकाले महासङ्घबाट अर्थपूर्ण सहयोगको अपेक्षा गरेको पनि बताए । उद्योगको सङ्ख्यात्मक र गुणात्मक अध्ययन गर्ने कार्यका लागि महासङ्घले राखेको प्रस्तावलाई विभागको तर्फबाट पूर्ण समर्थन रहेको उनको भनाइ थियो ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *