कृषिमा वैदेशिक लगानी : साना किसानहरुलाई मर्का नपार्न जोड
- माघ २६, २०७७
- 0
कृषि क्षेत्रमा वैदेशिक लगानी भित्राउँदा साना किसानहरुलाई मर्का नपर्ने गरी भित्राउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सोमबारको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अरनिको राजभण्डारीले सरोकारवालाको छलफल बिना एकाएक विदेशी लगानी भित्रयाउँदा नेपालको पुरै कृषि क्षेत्र बिदेशीलाई हस्तान्तरण गरेजस्तै हुने धारणा व्यक्त गरे ।
यस्तै डेरी उद्योग संघका उपाध्यक्ष निराजन श्रेष्ठले कृषिमा विदेशी लगानी भित्राउनु अघि नेपालका कृषकहरुको रोजगारीको व्यवस्थामा ध्यान दिनुपर्ने बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल कृषिमा विदेशी लगानी साना तथा मझौला उद्योगमा नभई ठुला उद्योगमा भित्रयाउन लागिएको बताए । विदेशी लगानीले साना उद्योगी, व्यवसायीलाई अप्ठ्यारो नपर्ने मान्यता राखिएको उनको भनाई थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा पेम नारायण कंडेलले किसान र नीजि क्षेत्रलाई असर नपार्ने गरी कृषिमा विदेशी लगानी भित्रिने तथा यसले किसानलाई प्रतिस्पर्धि बनाउने पनि बताए ।
अब बन्ने कार्यविधि सबै पक्षको साथ लिएर बनाइने उनको भनाई थियो । बैठकमा सहभागिहरुले नेपालका किसानलाई प्रतिस्पर्धी हुनसक्ने बनापछि मात्रै विदेशी लगानी भित्राउनुपर्ने सुझाव दिएका थिए ।