आइएमई ‘भरोसा कोश’ आवेदकहरुलाई जनही ५० हजार
कोभिडका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्त लाभग्राही
- पुस ३, २०७७
- 0
कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण सुरु भएको छ । कोशबाट आवेदकहरुलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।
शुक्रबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमई ग्रुपका अध्यक्ष एवमं नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सयुक्तरुपमा काठमाडौमा उपलब्ध आवेदकहरुलाई चेक हस्तान्तरण गरिवितरण प्रारम्भ गर्नुभएको हो ।
आइएमई पे वालेट मार्फत पनि भुक्तान लिन सक्ने व्यवस्था मिलाइएको कोशको सहयोग राशी पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइएको आइएमईले जानकारी दिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ढकालले कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि त्यो पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरिएको बताउनुभयो ।
प्रवन्ध निर्देशक हेमराज ढकालले निजी क्षेत्रबाट स्थापित यस कोशले प्रभावित परिवारलाई केहि न केहि सहयोग पुग्ने उल्लेख गर्नुहुदै देश र आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको दुःखद निधन सम्वन्धित परिवारका लागि मात्र नभई राष्ट्रकै लागि अपुरणीय क्षति भएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भरोसा कोश कोभिड–१९ ले विदेशमा मृत्यु भएका श्रमिकका नेपालमा हुने निकटका आफन्तलाई मात्र भएको बताउनुभयो ।
यस्तै ब्राण्ड एम्बासडर दिपकराज गिरीले दुखको बेलामा साथ दिने आइएमईको परम्परा स्मरण गर्दै यस्तो परोपकारी कार्यले संस्थालाई झनै मजबुत बनाउने बताउनुभयो ।
यस्तै अर्का ब्राण्ड एम्बासडर दीपाश्री निरौलाले परिवारको लालनपालनका लागि विदेश गएका सदस्य गुमाउनुपर्दा बाँच्नेलाई जुन पीडा हुन्छ त्यो बुझेर आइएमईले स्थापना गरेको भरोसा कोश आफैमा महत्वपूर्ण र समग्र निजी क्षेत्रका लागि अनुकरणीय परोपकारी कार्य भएको बताउनुभयो ।