गुमनाम उद्योगको पुनरूत्थान गर्न उद्योग वाणिज्य महासंघको माग

news-details

नेपाल उद्योग वाणिज्य महासंघले विगतमा निर्यातमूलक उद्योगका रूपमा स्थापित भएर अहिले गुमनाम भएका उद्योगहरूको पुनरुत्थानमा ध्यान दिन सरकारसमक्ष माग गरेको छ ।

महासंघका नवनिर्वाचित पदाधिकारीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहित मन्त्रालयका उच्च अधिकारीसँगको भेटमा गार्मेन्ट, पस्मिना, गलैँचाजस्ता उद्योगको पुनरुत्थान गर्नेमा ध्यान दिन आग्रह गरेको हो ।

छलफलमा मन्त्री भट्टले महासंघका पदाधिकारीले दिएका सुझाव सकारात्मक रहेको भन्दै मन्त्रालयले निकट भविष्यमा महासंघलगायतका अन्य व्यवसायिक सङ्घसंस्था, सरोकारवाला सरकारी निकायसमेतको सहभागितामा एक विशेष कार्यक्रम गर्ने र त्यसबाट उद्योग–व्यवसायको विकासमा ठोस निष्कर्ष निकाल्ने योजना मन्त्रालयको रहेको बताउनुभयो ।

भेटमा महासंघ अध्यक्ष शेखर गोल्छाले त्यस्ता उद्योगलगायत कोभिड प्रभावित उद्योग र अर्थतन्त्रको पुनरुत्थान अपरिहार्यता रहेको बताउनुयो । निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना र अर्थतन्त्रको पुनरुत्थानमा निजी क्षेत्र सहकार्य गर्न तत्पर रहेको उहाँको भनाइ थियो । उहाँले यसका लागि नीतिगत तथा अन्य व्यवस्था गर्न अन्तर्राष्ट्रिय विज्ञसमेत संलग्न गराई महासंघले अध्ययन गर्न लागेको जानकारी दिनुभयो ।

अध्यक्ष गोल्छाले दोहोरो करका कारण स्थानीय तहमा उद्योग–व्यवसाय थप समस्या परेको पनि ध्यानाकर्षण गराउनुभयो । कोभिड महामारीसँगै बन्द चलचित्र हलहरू स्वास्थ्यका सबै प्रोटोकल कायम गरी अविलम्ब सञ्चालन गर्नुपर्नेमा पनि आग्रह गर्नुभयो ।

गोल्छाले अहिलेको सङ्कटमा लगानी ल्याउन र लगानी गर्न चाहनेलाई सहज र सरल वातावरण बनाइदिनुपर्ने, निर्यात प्रवद्र्धनका लागि विशेष प्याकेज आउनुपर्ने, साना तथा मझौला व्यवसायको दर्ता प्रक्रिया सहजीकरण गर्नुपर्ने सुझाव दिनुभयो ।

कुनै एक निकायमा दर्ता भइसकेको व्यवसायलाई अन्यत्र दर्ता गर्नु नपर्ने व्यवस्था हुनुपर्ने, ऐन कानुनसँगै नियमावली पनि ल्याइनुपर्ने, चेम्बर ल ल्याउनुपर्ने माग महासंघको छ । त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्वबाट उठेको रकमको केही हिस्सा उद्योग वााणिज्य संघको संस्थागत विकासमा खर्च गर्न दिनुपर्ने माग पनि महासंघले राखेको थियो ।

सो अवसरमा वाणिज्य सचिव वैकुण्ठ अर्यालले मन्त्रालयले सधै महासंघसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

परिसंघद्वारा स्वागत

यसैबीच नेपाल उद्योग परिसंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । बिहीबार परिसंघको कार्यालय थापाथलीमा आयोजित औपचारिक कार्यक्रममा महासंघका पदाधिकारीलाई परिसंघका पदाधिकारीले बधाई तथा शुभकामना प्रदान गरेका हुन् ।
कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले महासंघको नयाँ कार्यसमितिसँग परिसंघको सहकार्यलाई थप सुदृढ र मजबुत बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो ।

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले निजी क्षेत्रले मध्यमार्गी बाटो अपनाई एकताबद्ध भई उद्योग–व्यवसायको प्रवद्र्धन र विकासमा सहकार्य नै पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *