राष्ट्रिय वाणिज्य बैंक र सुनकोशी गाँउपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता
- मंसिर ४, २०७७
- 0
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुली जिल्लाको सुनकोशी गाँउपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र सुनकोशी गाँउपालिकाका अध्यक्ष दिपा बोहोरा (दाहाल)ले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता पछि गाँउपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । गाँउपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।
कार्यक्रममा बागमती प्रदेशसभाका माननीय सांसद राजन दाहालले गाँउपालिकाले बजार तथा सडकको विस्तार गरी सकेको हुनाले कृषकलाई उत्पादन, बजारीकरण कार्यको लागि उत्प्रेरित गर्न यस्तो कर्जाले सघाउ पुर्याउने बताउनुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यस्तो सहमतिले स्थानीय स्तरमा उद्यमशीलताको विकास भई कर्जा लगानी र असूलीमा सघाउ पुग्ने बताउनुभयो ।
गाँउपालिकाका अध्यक्ष दिपा बोहोरा (दाहाल)ले यस्तो सहुलियतपूर्ण कर्जा युग परिवर्तन गर्नको लागि अवसर हुने बताउनुभयो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तब्य तथा विभागीय प्रमुख राज्य लक्ष्मी खड्गीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, सहायक प्रबन्धक राजन घिमिरे, प्रकाश राई, गाँउपालिकाका उपाध्यक्ष दिर्व सिं मोक्तान, गाँउपालिकाका पदाधिकारीहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।