लक्ष्यभन्दा धेरै उठ्यो आयकर, आम्दानीभन्दा खर्च धेरै

news-details

कोभिड–१९ सङ्क्रमणका कारण समग्र आर्थिक गतिविधि प्रभावित हुँदा सङ्कुचित राजस्व सङ्कलनको अवस्थामा सुधार आएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को सुरुवातमा सङ्कलित राजस्व बराबरकै खर्च हुँदा सरकारलाई बढेको दबाब पनि यतिबेला केही सहज भएको छ । यद्यपि खर्चको तुलनामा सरकारको आम्दानी भने केही कम नै देखिएको छ ।

मन्त्रालयको चालू आवको पहिलो त्रैमासिक अर्थात् असोजसम्म आयकर सङ्कलनमा निकै सुधार आएको छ । मन्त्रालयले असोजसम्म राखेको आयकर सङ्कलनको लक्ष्य पनि पूरा भएको छ ।

असोजसम्म ३२ अर्ब १६ करोड लक्ष्य रहेकामा ३५ अर्ब २५ करोड रुपियाँ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । यो चालू आवको वार्षिक लक्ष्यको करिब १४.८१ प्रतिशत हो । सरकारले चालू आवमा दुई खर्ब ३८ अर्ब रुपियाँ आयकर सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

असोजसम्म एक खर्ब ६३ अर्ब रुपियाँ कर राजस्व सङ्कलन भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले यो तीन महिनामा एक खर्ब ८१ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य तय गरेको थियो । लक्ष्य र वास्तविक राजस्व सङ्कलनको अन्तर १८ अर्ब हुन आउँछ । गैरकर राजस्व र अन्य प्राप्तिसमेत गरेर सरकारले करिब एक खर्ब ९५ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

आयकरबाहेक अन्य धेरै शीर्षकमा लक्ष्यअनुसार सङ्कलन नभए पनि व्यापक अन्तर भने छैन । विषम परिस्थितिका बीच पनि सरकारले राखेको राजस्व सङ्कलनको लक्ष्यको अन्तर खुम्चिँदै गएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

मन्त्रालयका अनुसार असोजसम्म ४१ अर्ब २८ करोड रुपियाँ भन्सार महसुल उठाउने लक्ष्य रहेकामा ३७ अर्ब ५७ करोड रुपियाँ सङ्कलन भएको छ । ३५ अर्ब ८० करोड रुपियाँ अन्तःशुल्क सङ्कलन गर्ने लक्ष्य रहेकामा २८ अर्ब ९७ करोड रुपियाँ सङ्कलन भएको तथ्याङ्क छ । मूल्य अभिवृद्धि कर सङ्कलन भने लक्ष्यअनुसार अलि बढी अन्तर देखिएको छ । ६७ अर्ब ३३ करोड रुपियाँ मूअकर सङ्कलनको लक्ष्यमा सरकारले ५८ अर्ब रुपियाँ मात्र उठाउन सफल भएको छ ।

असोजसम्म सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिन्छ । मन्त्रालयका अनुसार उक्त अवधिसम्म दुई खर्ब एक अर्ब रुपियाँ खर्च भएको छ । जसमध्ये चालूतर्फ एक खर्ब ८२ अर्ब, पुँजीगततर्फ १५ अर्ब, वित्तीय व्यवस्थातर्फ तीन अर्ब ४१ करोड रुपियाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *