बाणिज्य बैंकहरुमा बढ्यो कर्जा र निक्षेपको रेसियो, दशैँमा बैंक बन्द हुने
- कार्तिक ५, २०७७
- 0
भेषराज बेल्बासे / पछिल्लो समय निरन्तर सुधारको क्रममा रहेका वाणिज्य बैङ्कहरूले एक साताको अवधिमै ६९ अर्ब रुपियाँले कर्जा प्रवाह र निक्षेप सङ्कलन ७१ अर्बले बढाएका छन् । यसले अर्थतन्त्र क्रमशः लयमा फर्किन थालेको सङ्केत गरेको छ ।
कोरोना सङ्क्रमणबाट जोगिँदै सर्वसाधारण दैनिक कामकाजमा फर्कन थाल्नु र चाडबाडको माहोलले गर्दा बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह र निक्षेप सङ्कलनमा ह्वात्तै सुधार आएको हो । छ महिनाअघिको बन्दाबन्दीपछि कर्जा प्रवाह ठप्प बनेका बैङ्कहरू पछिल्ला दिनमा कर्जा प्रवाह र निक्षेप सङ्कलनमा आएको वृद्धिले उत्साहित बन्दै छन् ।
बैङ्कहरूले असोजको २३ गतेसम्म २८ खर्ब ७२ अर्ब रुपियाँ ऋण प्रवाह गरेकामा ३० गते आइपुग्दा यो बढेर २९ खर्ब ४१ अर्ब रुपियाँमा पुगेको हो । यसैगरी असोज २३ सम्म २९ खर्ब ६४ अर्ब निक्षेप सङ्कलन गरेका २७ वाणिज्य बैङ्कले असोज ३० सम्म ३० खर्ब ३५ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् । एक सातामै निक्षेप सङ्कलन मात्र ७१ अर्बले बढेको हो ।
बैङ्क तथा वित्तीय संस्थाको कर्जा तान्ने होडबाजी, कर्जा तान्ने विभिन्न दशैँ योजना र अफरले आर्थिक क्रियाकलाप चलायमान हुन थालेको छ । दशैँले बजारमा बढाएको चहलपहलसँगै बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्न थालेको हो ।
नेपाल बैङ्कर्स सङ्घका कार्यकारी निर्देशक अनिल शर्मा बजार खुलेपछि चाडबाडले गर्दा कर्जा र निक्षेपको मागमा उल्लेख्य सुधार आएको बताउनुहुन्छ । कर्जाको ब्याज दर घट्नु, आर्थिक क्रियाकलाप खुल्दै जानु, दशैँको माहोल बन्दै जानुले बैङ्क तथा वित्तीय संस्थामा कर्जाको माग आउन थालेको उहाँको भनाइ छ ।
भदौको अन्त्यदेखि असोज ९ सम्म करिब दुई सातामा वाणिज्य बैङ्कहरूको कर्जा लगानी २५ अर्ब रुपियाँले बढेको थियो । बैङ्क तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा पनि ब्याज बढाएका कारण निक्षेप सङ्कलन पनि दुई सातामा करिब ३७ अर्ब रुपियाँले बढेको थियो ।
असोज ९ सम्ममा वाणिज्य बैङ्कले ३५ खर्ब ३२ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् भने २९ खर्ब २९ अर्ब रुपियाँ कर्जा लगानी गरेका थिए ।
दशैँमा बैङ्क बन्द हुने
विगतमा दशैँ बिदाको समयमा पनि तालिका निकालेर केही घण्टाका लागि खुल्ने गरेका बैङ्कहरू यसपालि बन्द हुने भएका छन् । यसपालि दशैँको बिदा अवधि कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म सबै बैङ्कका शाखा बन्द हुने नेपाल बैङ्कर्स सङ्घले जनाएको छ ।
कोभिड–१९ का कारण बैङ्कका कर्मचारीसमेत प्रभावित भएकाले सो समयमा शाखा खोल्न नसकिने सङ्घले जनाएको छ । बैङ्कका शाखा नखुले पनि डिजिटल बैङ्किङ र एटीम सेवा भने नियमित हुने छन् ।
कोरोना सङ्क्रमणपछि नेपाल राष्ट्र बैङ्कले जुनसुकै बैङ्कको एटीएम अर्को बैङ्कमा प्रयोग गर्दा थप शुल्क नलाग्ने व्यवस्था गरेको छ । यसले पनि ग्राहकले नजिकैको आफूलाई पायक पर्ने एटीएम बुथबाट पैसा निकाल्नसक्ने छन् भने विद्युतीय माध्यमबाट रकम पठाउन सक्ने छन् । कोरोना भाइरस सङ्क्रमणका कारण बच्न र जोखिम न्यूनीकरणका लागि डिजिटल बैङ्किङको अधिकतम सदुपयोग गर्न पनि सङ्घले आग्रह गरेको छ ।