अर्थमन्त्री डा खतिवडा र बेलायतका विदेश राज्यमन्त्री अहमदबीच द्विपक्षीय सहयोग र हितका विषयमा छलफल

news-details

अर्थमन्त्री डा युवराज खतिवडा र संयुक्त अधिराज्य बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमदबीच द्विपक्षीय सहयोग र हितका विषयमा आज भिडियो कन्फ्रेन्स मार्फत छलफल भएको छ ।

उक्त छलफलमा अर्थमन्त्री खतिवडाले नेपाल र संयुक्त अधिराज्य बेलायतबीच दुई सय वर्षदेखि घनिष्ठ सम्बन्ध रहेको स्मरण गर्दै नेपालको आर्थिक विकास, स्वास्थ्य, शिक्षा, भूकम्पपछिको पुनर्निर्माण, वित्तीय पहुँच, सडक पूर्वाधार र लगानी जस्ता क्षेत्रमा बेलायत सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिएका थिए ।

अर्थमन्त्री खतिवडाले बेलायत सरकारले कोभिड १९ पछिको कठिन समयमा स्वास्थ्य क्षेत्र, सामाजिक सुरक्षा तथा पूर्वाधार क्षेत्रमा पनि बेलायत सरकारले ठूलो सहयोग गर्ने गरी प्रस्ताव गरेकोमा खुशी व्यक्त गरेका थिए ।

छलफलमा अर्थमन्त्री खतिवडाले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराउदै प्रत्यक्ष वैदेशिक लगानीको थ्रेसहोल्ड संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको, बेलायतसँग दोहोरो कर मुक्ति सम्झौताको प्रक्रिया अघि बढेको, लगानी आकर्षित गर्ने गरी सार्वजनिक निजी साझेदारी तथा लगानी वोर्ड ऐन लगायतका कानूनहरु निर्माण गरिएको बताएका थिए ।

अर्थमन्त्री खतिवडाले बेलायतका लगानीकर्तालाई अघिल्लो वर्ष लगानी सम्मेलनका सिलसिलामा बेलायत भ्रमण गरेको र त्यसको फलस्वरुप बेलायती लगानीकर्ताहरु उत्सुक भएको स्मरण गर्दै यसमा सहजीकरण गर्न बेलायत सरकारलाई अनुरोधसमेत गरेका थिए । साथै अर्थमन्त्री खतिवडाले वित्तीय पहुँच र वित्तीय समावेशिता सम्बन्धी नीति तर्जुमा र कार्यान्वयनमा बेलायत सरकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका थिए ।

कार्वन उत्सर्जनमा नेपालको नगण्य अंश भएतापनि जलवायु परिवर्तनबाट नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले हरित प्रविधि, वन क्षेत्रको विस्तार, नविकरणीय उर्जा र जैविक विविधता संरक्षणमा नेपालले जोड दिएको बताए ।

उनले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमाली क्षेत्रको संरक्षण गरी जलवायु परिवर्तनको असरबाट सुरक्षित राख्न विश्व समुदायले अग्रसरता लिनुपर्ने बताएका थिए । यस सन्दर्भमा बेलायतमा हुने कोप २६ को बैठकमा नेपालले सकृय सहभागिता जनाउने र आफ्ना अनुभवहरु समेत सुनाउने उनले जानकारी गराएका थिए ।

उक्त छलफलमा बेलायतका मन्त्री लर्ड अहमदले कोभिड १९ ले सिर्जना गरेको कठिन अवस्थालाई सम्बोधन गर्न नेपाललाई ४५.८ मिलियन स्टर्लिङ्ग पाउण्डको सहयोग प्याकेजको घोषणा गर्दै नेपालको आर्थिक सुधार, लगानीको वातावरण, वैदेशिक लगानीको सीमा, जलवायु परिवर्तनको असर न्यूनीकरण, सगरमाथा सम्बाद र हरित विकास जस्ता विषयमा नेपालसित थप सहयोग बढाउन र सहकार्य गर्न बेलायत सरकार ईच्छुक रहेको बताएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *