इन्भेस्टमेन्ट बैंकले इटलीमा मुद्दा जित्यो, २ अर्ब १० करोड फिर्ता पाउने
- जेष्ठ २८, २०७७
- 0
नेपाल इन्भेस्टमेन्ट बैंकले इटलीको उच्च अदालतबाट मुद्दा जितेको छ। यससँगै तनहुँ हाइड्रोपावर कम्पनीलाई यसअघि बैंक जमानतबापत भुक्तानी गरेको करिब २ अर्ब १० करोड रुपैयाँ प्राप्त गर्ने बाटो खुलेको बैंकले बताएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकले इटलीको बैंक इन्टेसा सानपाओलोको विश्वासमा इटलियन कम्पनी कोअपरेटिभा मुराटोरी सिमेन्टीसिटी डि रेभेन्ना (सीएमसी)लाई बैंक ग्यारेन्टी दिएको थियो । तनहँु हाइड्रोपावरको ठेक्काका लागि सीएमसीलाई ८५ करोड १४ लाख रुपैयाँ र ४७ लाख ४९ हजार युरो (कुल रु २ अर्ब १० करोड) बराबरको बैंक ग्यारेन्टी दिएको थियो ।
मेलम्ची खानेपानी आयोजनाको समेत ठेक्का पाएको सीएमसी भागेपछि तनहँु हाइड्रोले गत वर्षको फागुनमा इन्भेस्टमेन्ट बैंकसँग जमानत जफत गरेको थियो ।
। यसअघि मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वे ब्युरो–१५ लाई चिनियाँ बैंकको विश्वासमा जारी गरिएको बैंक ग्यारेन्टीमा तत्कालीन बैंक अफ काठमान्डू र हिमालयन बैंकले यस्तै समस्या भोगेका थिए ।
बैंकका अधिरकारीहरू यति ठूलो रकम नेपाल भित्रिनुले अर्थतन्त्रलाई नै लाभ पुर्याउने बताउँछन्। पूरा रकम इन्भेस्टमेन्ट बैंकले पाएमा राष्ट्र बैंकलाई पनि विदेशी विनिमय सञ्चिति उकास्न सघाउ पुग्छ। यो पैसाले मात्रै अहिलेको अवस्थामा झन्डै एक दिनको आयात धान्न पुग्छ।