एडीबीले नेपाललाई ३० अर्ब ऋण सहायता दिने, अर्थमन्त्री र बैकका अध्यक्षबीच टेलिफोन वार्ता
- बैशाख १७, २०७७
- 0
एशियाली विकास बैंकले नेपाललाई २५० मिलियन अमेरिकी डलर (करिब ३० अर्ब नेपाली रुपैयाँ) बराबरको सहूलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामाग्रीहरु दिने भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले एशियाली विकास बैकका अध्यक्ष मासाचुगु आसाकावासँग भएको टेलिफोन वार्तामा उक्त सहायताका लागि धन्यवाद व्यक्त गरेका थिए । सो अवसरमा कोभिड– १९ का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोग बारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्रीले खतिवडाले एशियाली विकास बैंक नेपालको मुख्य विकास साझेदार रहेको बताउँदै बैंकले ऊर्जा, यातायात, खानेपानी र शहरी विकास लगायत ग्रामीण उद्यम क्षेत्रमा गरेको सहयोगलाई विशेष प्रशंसा समेत गरेका थिए । साथै, नेपालले अंगिकार गरेको संघीय प्रणालीको प्रतिफल आम नागरिकले पाउन सक्ने तुल्याउनका लागि संघीय संरचनाका सबै संस्थाहरु बलियो बनाउनुका अतिरिक्त स्थानीय पूर्वाधार विकासमा लगानी बढाउनु पर्ने कुरामा समेत उनले जोड दिएका थिए ।
कोभिड –१९ बाट स्वास्थ्य सेवामा सार्वजनिक क्षेत्रको भूमिका प्रभावकारी रहनुपर्ने तथ्य उजागर भएको भन्दै अर्थमन्त्री खतिवडाले आगामी दिनमा नेपालको स्वास्थ्य पूर्वाधार विकासमा बैंकको थप सहयोगको अपेक्षा गरेको जनाए । उनले कोरोना संक्रमणबाट वैदेशिक रोजगारीका अवसरहरु खुम्चिदै जाँदा युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन आधुनिक एवम् व्यवसायिक कृषि र स्थानीय पूर्वाधार एवम् ग्रामीण वित्त व्यवस्था विस्तारमा लगानी गर्नुपर्ने आवश्यकता रहेकोले यी क्षेत्रमा सहायता बढाउन एशियाली विकास बैंकलाई आग्रह गरे ।
एशियाली विकास बैंकका अध्यक्ष आसाकावाले कोभिड –१९ को नियन्त्रणमा नेपालले चालेका कदमहरुको प्रंशसा गर्दै कोभिड –१९ का कारण सिर्जना भएको चुनौतीपूर्ण वर्तमान परिस्थितिलाई सम्बोधन गर्नका लागि बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण एवम् निजी क्षेत्रका लागि उपलब्ध स्रोतसाधन समेतका माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
उनले नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासका लागि बैंकले सहयोगलाई बढोत्तरी गर्दै जाने बताउँदै आगामी दिनमा बैंकले ऊर्जा, यातायात, नागरिक उड्डयन, संघीयतामा सेवाप्रवाह जस्ता क्षेत्रमा थप लगानी गर्ने बारेमा पनि जानकारी गराएका थिए ।