‘बन्द गर्न चाहने उद्योगलाई बन्द गर्न दिनु पर्छ’ : महासंघका बरिष्ठ उपाध्यक्ष गोल्छा
- बैशाख १०, २०७७
- 0
कोरोना भाइरसका कारण भइरहेको लकडाउनले गर्दा देशमा आर्थिक गतिविधि ठप्प भएका बेलामा बन्द गर्न चाहने उद्योगलाई बन्द गर्न सहज व्यबस्था गर्न नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले माग गरेका छन् ।
बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘भर्चुअल भिडियो कन्फेरेन्स’मा बोल्दै उपाध्यक्ष गोल्छाले भने, ‘यो अबस्थामा सबै व्यवसाय सञ्चालन हुन्छन् भन्ने छैन, अब बन्द गर्न वा व्यवासय डाउन साइज गर्न चाहनेलाई सरकारले सहज वातावरण बनाई दिन पर्छ ।’
त्यस्तै, औद्योगिक क्षेत्रमा विद्युत प्राधिकरणले लिइरहेको डिमाण्ड चार्ज हटाउन पर्ने माग गरेका छन् । विद्युत प्राधिकरणले यस्तो बेलामा पनि डिमाण्ड चार्जको बिल पठाइरहेको छ, यस्तो डिमाण्ड चार्ज ४ महिनासम्म र बिजुलीमा ३० प्रतिशत छुट दिने पर्ने उनले भने ।
त्यस्तै उद्योगीहरुले उद्योग व्यवसाय सञ्चालनका लागि माग गर्दै आएको पुनर्कर्जा कोषको आकार १ खर्ब पुर्याउनुपर्ने बताएका छन । त्यस्तै, ऋण र पुँजीकोषको अनुपात तत्कालको लागि बैंकहरुलाई आफै जोखिम व्यवस्थापन निर्धारण गर्न छोडिदिन समेत सुझाव दिएका छन् ।
अब अर्को १ महिनासम्म लकडाउन लम्बिने हो भने उद्योग व्यवसायीहरुमा काम गर्ने कर्मचारीको ५० प्रतिशत मात्रै तलब दिने सक्ने उनले बताए । अबको केहि महिनासम्म पनि उद्योग सञ्चालन गर्न नसक्ने हो भने व्यवसाय सञ्चालनका लागि उनीहरुको खातामा रकम नै नहुने अबस्था छ यसका लागि क्यास फ्लोका लागि बैंक तथा वित्तीय संस्थाले सफ्ट लोनको व्यबस्था गर्न पर्ने उनको धारणा राखेका छन् ।
उनले उद्योगीहरुलाई राहत दिनका लागि उनीहरुले (मुल्य अभिवृद्धि कर फिर्ता, अन्तशुल्क) लगायतका मुद्दाहरु जितेका व्यवसायीहरुले उक्त मुद्दा जिते वापत पाउने रकम तत्काल उपलब्ध गराउन समेत माग गरे ।
अहिलेको यो महामारी चलिरहेको संकटको बेलामा उद्योग सञ्चालन गर्दा कुनै कर्मचारी वा मजदुरको मृत्यु भएमा रोजगारदाताले नै क्षति वेहोर्नुपर्ने कानुनी व्यबस्था रहेको छ त्यस कारणले पनि यो वेलामा उद्योग व्यवसाय सञ्चालन गर्ने अबस्था नरहेको उनले बताए । अब सरकार र व्यवसाय सबै मिलेर कुनै संयन्त्र बनाएर भएपनि व्यवसाय सञ्चालनको वातावरण चाहि बनाउन पर्नेमा उनको जोड थियो ।