पहिलो पटक आज राति २ : ३० बजे नेपाल–जापान सीधा हवाई उडान

news-details

नेपाल एयरलाइन्सले पहिलो पटक जापानका लागि सिधा उडान थाल्दैछ । त्रिभुवन विमानस्थलबाट करीव साढे ६ घण्टाको उडानमार्फत ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेछ ।

निगमका अनुसार राति २ः३० बजे हुने पहिलो उडानमा करिब ९० यात्रु सहभागी हुँदैछन् । साथमा २५ जनाको नेपाली टोली पनि जापान जाँदैछ । टोलीका नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले गर्ने भएका छन् । पहिलो उडानमा मन्त्रालयका सहसचिव, निगम सञ्चालक समितिका सदस्यहरु र व्यापारिक साझेदारहरुलाई पाहुनाका रुपमा सहभागी गराइनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यरातमा औपचारिक कार्यक्रम गरी टोलीलाई विदाई गरिने जनाइएको छ । जापानबाट नेपाल आउने क्रममा पनि औपचारिक कार्यक्रम गरी पहिलो उडानका यात्रुहरुलाई स्वागत गरिनेछ ।

नेपाल एयरलाइन्सले वाइडबडी जहाज ए ३३०–२०० जहाजले यो रुटमा उडान गर्नेछ । वाइडबडीको यो पहिलो लामो दूरीको उडान हुनेछ, जसमा एकतर्फी उडान समय नै साढे ६ घण्टाको हुने नेपाल एयरलाइन्सले जनाएको छ ।

नेपाल एयरलाइन्सकै लागि भने ओशाका पुरानै गन्तब्य हो । तर यसअघि सिधा उडान भएको थिएन । निगमलाई सहजै यात्रु प्राप्त हुने विमानस्थल भने जापानको टोकियोस्थित नारिता विमानस्थल हो । यहाँ भने सेड्युल उडानको अनुमति पाइसकेको छैन ।आगामी जनवरीसम्म नारिता विमानस्थलमा पनि उडान भर्न अनुमति प्राप्त भइसक्ने निगमको भनाइ छ ।

दशैंको मुख पारेर यस विमानस्थलबाट दुई चार्टर्ड उडानको अनुमति भने निगमले पाएको छ । दशैंमा राम्रो अकुपेन्सीमा जापान उडान गर्ने निगमले बताएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *