मुलुक ५ खर्ब ९५ अर्बको बाहिरी ऋणमा
जेठ १५ गते बजेट भाषण
- रोजगारमञ्च
- जेष्ठ १३, २०७६
- 0
चालु आर्थिक वर्षको फागुनसम्ममा झण्डै १० खर्ब बराबरको सार्वजनिक ऋणमा मुलक रहेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले देखाएको छ ।
सोमबार अर्थमन्त्री डा.युवराज खतिवडाले संसदमा पेश गरेको आर्थिक समिक्षा प्रतिवेदनले नेपाल ९ खर्ब ६० अर्ब ऋणमा रहेको देखाएको हो । जसमध्ये ३ खर्ब ८३ अर्ब ५९ करोड रुपैयाँ मात्र आन्तरिक ऋण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै मुलुक ५ खर्ब ९५ अर्ब को बाह्य ऋणमा रहेको अर्थमन्त्री खतिवडाले बताएका छन् । झण्डै एक आर्थिक वर्षको बजेट बराबरको ऋणमा रहेको देशमा सदर हिसाब गर्दा एक नेपालीको टाउकोमा ३५ हजार ऋण पर्ने देखिन्छ । तर आर्थिक सर्वेक्षण प्रतिवेदनले भने नेपालीको प्रतिव्यक्ति आम्दानीसँगै गरिबी समेत घटेको देखाएको छ ।
चालु आर्थिक वर्षमा नेपालीहरुको प्रतिव्यक्ति आम्दानी १ लाख १७ हजार पुगेको र निरपेक्ष गरिबीको संख्या १८ प्रतिशतमा झरेको बताएको छ ।
जेठ १५ गते बजेट भाषण
आर्थिक वर्ष २०७६ र ७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६ र ७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गर्ने जानकारी गराएका हुन् ।
बजेट भाषणका लागि प्रतिनिधिसभाका सांसदलाई अपरान्ह ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्नसमेत आग्रह सभामुख महराले आग्रह गरेका छन् । संविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने प्रचलन छ ।