माछापुच्छ्रेले ल्यायो रेमिट्यान्सको ‘रेमिट्याप’ डिजिटल वालेट
- चैत्र २५, २०७५
- 0
माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र ए.एम.भी. टेल कम्पनीले रेमिट्यान्स सेवाको सहजताका लागि ‘रेमिट्याप’ मोवाइल वालेट सेवा सञ्चालन सम्वन्धी त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।
‘रेमिट्याप’ मोवाइल वालेटबाट सेवा प्रवाह गर्ने सम्वन्धी उक्त सम्झौतामा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, टाइम्स रेमिटका प्रवन्ध निर्देशक प्रमिल स्थापित र ए.एम.भी. टेल कम्पनीका तर्फबाट को–फाउण्डर अनिल शर्माले हस्ताक्षर गरेका हुन । यो सम्झौतासँगै ई–रेमिट्यान्स तथा ई–पेमेण्ट माध्यमबाट छिटो, सस्तो र सहज तरिकाले रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ ।
सम्झौता पछि बोल्दै माछापुच्छ्रे बैंकका सिइओ सुमन शर्माले यस सहकार्यले बैंकबाट प्रवाह हुने रेमिट्यान्स सेवा थप सहज, प्रविधियुक्त र विस्तार हुनेमा आफु विश्वस्त रहेको बताए ।
यस्तै टाइम्स रेमिटका प्रवन्ध निर्देशक प्रमिल स्थापितले माछापुच्छ्रे बैंकसँगको सहकार्यले थप सेवा विस्तारमा टेवा पु¥याउने बताए भने एएमभी टेल कम्पनीका को–फाउण्डर अनिल शर्माले प्रविधिको नयाँ प्रयोगसहित सेवा आरम्भ गर्न पाएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा नेपाल रेमिटर्स एसोसिएसनका अध्यक्ष सुमन पोखरेलले यो सेवा आरम्भले रेमिट्यान्स क्षेत्रमा नयाँ आयाम थपेको बताउदै स्मार्ट फोन र इन्टरनेटको पहुँच ६५ प्रतिशतभन्दा बढीको पहुँचमा पुगिसकेकाले सेवाग्राहीले थप सहजता महसुस गर्ने बताए ।
‘रेमिट्याप’ वालेटमा अनलाइन, मर्चेन्ट भुक्तानी लगायतका विविध सेवा ‘इन्किृप्टेड भर्चुअल मनी कार्ड’ मार्फत गर्न सकिने प्रविधि समेत रहेको बैंकले जानकारी दिएको छ । हाल रेमिट्यान्स पठाउने विधिभन्दा सहज, सस्तो र परिवारजनको बैंक खाता वा वालेटमै पैसा पठाउने सुविधा रहेको र देशका १० हजार ठाँउबाट सहजै भुक्तानी पाउन सकिने व्यवस्था रहेको पनि बैंकले जनाएको छ ।
यो सेवाको सुभारम्भसँगै विदेशमा रहेका नेपालीहरुले ‘रेमिट्याप’ वालेट प्रयोग गरि स्वदेशमा रेमिट्यान्स पठाउन सक्ने र डोमेस्टिक रेमिटयान्स र विल भुक्तानीको सुविधा पनि उपयोग गर्न पाउने जनाइएको छ । साथै ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा रकम स्थानान्तरण गर्न सक्नेछन ।
हाल बैंकले ९९ शाखा, ७६ शाखारहित बैंकिङ सेवा गरी १७५ स्थानबाट सेवा प्रदान गर्दै आइरहेको छ भने १२१ वटा एटिएम संचालनमा ल्याएको छ ।