प्रभु बैंक र सैनिक कल्याणकारी कोषबीच सम्झौता
- फाल्गुन १४, २०७५
- 0
प्रभु बैंक लिमिटेड र सैनिक कल्याणकारी कोष जंगी अड्डाबीच नेपाल सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।
सैनिक कल्याणकारी कोष जंगी अड्डाका तर्फबाट उपरथी ताराध्वज पाण्डे र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार सैनिक जंगी अड्डाद्धारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकास प्राप्त सकल दर्जाका सैनिकहरुका छोरा छोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय अन्तर्गत जस्तै चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातक वा सो भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ ।
यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् २५ लाख सम्मको हुनेछ । यो शैक्षिक कर्जा सुविधा प्रभु बैंकको बबरमहलस्थित मुख्य शाखा कार्यालयबाट अथवा कर्जा सुविधा लिन चाहने विद्यार्थीलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट प्राथमिकताका साथ उपलब्ध गराउने बैंकले जनाएको छ ।
सैनिक कल्याणकारी कोष र प्रभु बैंक विच सम्पन्न शैक्षिक कर्जा सम्बन्धी सम्झौताले बहालवाला तथा अवकास प्राप्त नेपाल सैनिकका क्षमतावान एवं जेहेन्दार सन्ततीहरुलाई विभिन्न प्राविधिक विषयहरुमा उच्च शिक्षा हासिल गर्नका लागि आर्थिक सहयोग हुनेछ ।
यस सम्झौतबाट सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ पूर्ण रुपमा कार्यान्वयनमा आई आफ्ना हिताधिकारी तथा बहालवाला एवं अवकास प्राप्त सैनिकका सन्ततीहरुलाई उच्च शिक्षा हासिल गराई सम्मानपूर्वक जीवनयापनमा सहयोग पुर्याउने एवं मुलुकलाई आवश्यक पर्ने दक्ष एवं प्राविधिक जनशक्ति उत्पादनमा योगदान पुर्याउने सैनिक कल्याणकारी कोषको योजना सफल हुने विश्वास बैंकले गरेको छ ।