बाणिज्य बैंकले विदेशबाट फर्केका युवा, विद्यार्थी, दलित, महिला तथा भूकम्पपीडितलाई सहुलियत कर्जा दिने

news-details

राष्ट्रिय वाणिज्य बैंकले व्यावसायिक कृषि, शिक्षित युवा, वैदेशिक रोजगारीबाट फर्केका युवा, दलित समुदाय व्यवसाय, भूकम्पपीडितको निजी आवासलगायतका लागि ५ करोड रुपैयाँसम्मको सहुलियत कर्जा दिने भएको छ  ।

बैंकले सरकारको नीति तथा राष्ट्र बैंकको निर्देशन अनुसार विनाधितो ३.६६ प्रतिशत ब्याजदरमा विभिन्न परियोजनाका लागि विनाधितो कर्जा दिने घोषणा गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको सीप, योग्यता तथा अनुभव उपयोग गर्ने, कृषि क्षेत्रको प्रवद्र्धन गर्ने, स्वरोजगार सिर्जना तथा स्वदेशमै उद्यम बन्न प्रेरित गर्नगरी सरकारले सहुलियत कर्जा सम्बन्धी कार्यविधि बनाएको थियो  । यही कार्यविधि अनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जा प्रवाहका निर्देशन दिएको थियो । केन्द्र बैंकको निर्देशनअनुसार राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण कर्जा प्रवाह गर्न थालेको हो ।

यस्तो कर्जाका लागि सरकारले ५ प्रतिशत ब्याज अनुदान दिन्छ  । वाणिज्य बैंकले आफ्नो आधार दरमा २ प्रतिशत थप गरेर ब्याज लिने जनाएको छ । हाल राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.६६ प्रतिशत रहेको छ । यसमा बैंकले २ प्रतिशत थप गरेर ८.६६ प्रतिशत ब्याज तोक्नेछ  । तोकिएको ब्याजमा सरकारले ५ प्रतिशत ब्याज अनुदान दिनेछ । अर्थात, ऋण लिन चाहने लक्षित युवा, वर्ग तथा समुदायले ३.६६ प्रतिशत ब्याजदरमा ऋण लिन सक्नेछन ।

बैंकले व्यावसायिक कृषि तथा पशुपक्षीका लागि ५ करोडसम्म र शिक्षित युवा स्वरोजगार कर्जा ७ लाखसम्म, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ५ लाखसम्म र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा ३ लाखसम्म उपलब्ध गराउने बताएको छ ।

त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा र दलित समुदाय व्यवसाय कर्जा १० लाखसम्म उपलब्ध गराउने बैंकले जनाएको छ  ।

सहुलियत कर्जाको अवधि बढीमा ५ वर्षका लागि हुनेछ । बैंकले किस्ताबन्दीमा कर्जा उपलब्ध गराउनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *