क्यानाडाको कन्सुलर सेवा नेपालबाटै उपलब्ध गराउन आग्रह

news-details

नेपाली विद्यार्थी र स्थायी बसोबास गर्न क्यानाडा जानेहरूको संख्या लगातार बढिरहेको सन्दर्भमा क्यानाडाले नेपालबाटै कन्सुलर सेवा उपलब्ध गराउनु पर्ने माग गरिएको छ ।

नेपाल र क्यानाडाको कूटनीतिक सम्बन्ध स्थापना भएको ५९ वर्ष पुगेको अवसरमा क्यानाडाको अन्टारियोमा आयोजित कार्यक्रममा नेपालीका तर्फबाट यस्तो माग गरिएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा क्यानाडाको सत्तापक्षीय सङ्घीय सांसद सोनिया सिद्दु सहभागी रहेको कार्यक्रममा नेपालमा भिसा कार्यालय मात्रै स्थापना भए धेरै नेपालीलाई सुविधा हुने जनाइएको थियो ।

त्यस अवसरमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले नेपालले क्यानाडामा राजदूतावास सञ्चालन गरिरहेको उल्लेख गर्दै क्यानाडाले पनि नेपालमा राजदूतावास स्थापना गर्नुपर्ने बताएको त्यहाँ रहेका नेपाली सञ्चारकर्मी जयराम गौतमले जानकारी दिए ।

नेपालमा क्यानाडाको दूतावास नहुँदा नेपालीको समय र पैसाको बरबादी भइरहेको भन्दै अध्यक्ष तिम्सिनाले क्यानाडामा करिब एक लाखको हाराहारीमा नेपाली पुगिसकेको अवस्थामा दूतावास स्थापना गर्ने कुरामा पहल अझ बढाउनु पर्नेमा जोड दिएका थिए ।

उनले नयाँ संबिधान जारी भएपछि नेपालको राजनीतिक अवस्था स्थायित्वतिर गइरहेको र लगानीका लागि राम्रो वातावरण बनिसकेको सन्दर्भमा क्यानाडामा बस्ने नेपाली तथा विदेशी लगानीकर्तालाई लगानी गर्न पनि आह्वान गरे ।

क्यानाडाका सङ्घीय सांसद सोनिया सिद्दुले दूतावास स्थापना गर्ने सन्दर्भमा छलफल गर्न तयार रहेको उल्लेख गरिन् ।

विदेशी विद्यार्थीका विषयमा सङ्घीय सरकारबाट केही नयाँ कार्यक्रमहरू घोषणा हुन लागेको उल्लेख गर्दै उनले कतिपय विषयमा प्रोभिन्स सरकारसंग समेत मिलेर काम गर्नुपर्ने बताइन् ।

क्यानाडा–नेपाल क्यानाडा पार्लियामेन्ट्री फ्रेण्डसिप ग्रुपका अध्यक्ष समेत रहेकी भारतीय मूलकी सांसद सिद्दुले नेपाल भ्रमण गर्ने इच्छा रहेको पनि उल्लेख गरेकी थिइन् ।

क्यानाडाका लागि नेपालकी कार्यबाहक राजदूत रोजिना ताम्राकारले क्यानाडा र नेपालको सम्बन्ध मजबुत रहेको उल्लेख गर्दै क्यानाडामा रहेका नेपाली र नेपाली मूलका बासिन्दाको भूमिका महत्वपूर्ण हुने बताइन् ।

प्राध्यापक तुल्सी धरेलले क्यानाडामा नेपालीसहित अन्तरराष्ट्रिय विद्यार्थीहरूले आवास, कामका साथै मानसिक स्वास्थ्यको गम्भीर समस्या भोगिरहेको उल्लेख गर्दै सङ्घीय सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले क्यानाडाका हरेक नेपालीले दुई देशका बीचमा कूटनीतिक प्रतिनिधिका रूपमा कार्य गर्नुपर्ने बताए ।

आयोजक संस्था एनआरएनए क्यानाडाका उपाध्यक्ष किरोज श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्राध्यापक वामदेव पौडेल, युवा व्यवसायी बिजय पौडेल, डेनमार्कका लागि नेपालका पूर्वराजदूत युवनाथ लम्साल लगायतले पनि नेपाल र क्यानाडाको सम्बन्धका विषयमा बोलेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *