काठमाडौंमा जारी ‘दुबई प्रोपर्टी शो’मा प्रहरीको छापा, आयोजकको राहदानी प्रहरी नियन्त्रणमा

news-details

काठमाडौमा जारी ‘दुबई प्रोपर्टी शो’मा नेपाल प्रहरीले छापा मारेको छ । काठमाडौको होटल सोल्टीमा जनवरी २१ र २२ गते आयोजित शोको अन्तिम दिन आज जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो ।

द म्याक नामक कम्पनीले आयोजना गरिरहेको उक्त शो अवैध रहेको सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले प्रहरीले मेला संचालन गरिरहेका पाँच जना भारतीय नागरिकको राहदानी पनि नियन्त्रणमा लिएको छ । पाँचै जना भारतीय नागरिक दुबई बसेर व्यापार गर्दै आएको प्रहरीले जनाएको छ ।

नेपालमा प्रपर्टी शो सञ्चालनका लागि आयोजकले कुनै अनुमति लिएका छैनन् । जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंक र अन्य कुनै पनि सरकारी निकायसँग अनुमति नलिई शो संचालन गरिरहेको पाइएको प्रहरीले जनाएको छ ।

दुवईमा रहेको लक्जरी अपार्टमेन्ट, टाउन हाउस र भिल्ला उक्त मेलामा ५ प्रतिशत रकम दिएर बुकिङ गर्न सकिने र घर खरिद गर्नेलाई युएईको १० वर्षे गोल्डेन भिसादेखि बैंकिङ कर्जाको सुविधा रहेको भन्दै आयोजकहरुले प्रचार गरिरहेका थिए ।

शनिबारबाट सुरु भएको मेलामा करिब ३०–३५ जना नेपालीले भिजिट गरेको पाइएको र अनुसन्धानका लागि भिजिटर्स लिस्टबाट उनिहरुको सम्पर्क नम्मर पनि प्रहरीले लगेको जनाईएको छ ।
केहि दिनअघि सामाजिक सञ्जालमा मेलाको प्रचार सामाग्री राखेको देखिएपछि नेपाल राष्ट्र बैंकले नेपालमा रहेका नेपाली नागरिकले विदेशमा लगानी गर्न नपाउने व्यवस्थाबारे जानकारी गराउदै यस्ता मेला आयोजना गर्न नहुने भन्दै सुचना नै जारी गरेको थियो ।

‘नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुनेगरी कुनै पनि कार्यहरू जस्तैः विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्नेलगायतका पुँजीगत प्रकृतिका कारोबार ९सोसम्बन्धी प्रचारप्रसार समेत० र यस बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्नु र नगराउनु,’ सूचनामा भनिएको छ ।

यस्तो काम गरेको पाइएमा कानुन बमोजिम कारबाही समेत गर्ने बैंकले चेतावनी दिएको छ । तर, यसअघि पनि विदेशमा रहेका विभिन्न कम्पनीहरुले यस्ता प्रोपटी शो गर्दा राष्ट्र बैंक लगायत कुनै पनि निकायले वास्ता गरेको देखिदैन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *