साउदीमा नेपालीका समस्या समाधानमा प्राथमिकता दिन सघसस्थाका प्रतिनिधिको आग्रह
- मंसिर २१, २०७९
- 0
साउदी अरबमा रहेका नेपाली कामदारको समस्या समाधानका लागि प्राथमिकता दिन साउदीमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधीहरुले आग्रह गरेका छन । साउदी भ्रमणमा रहेका नेपाली पत्रकारहरुसँगको अन्तरक्रियामा उनीहरुले उक्त आग्रह गरेका हुन् ।
नेपाली अन्तर संस्था समन्वय समितिको संयोजनमा साउदीको रियादमा क्रियासिल संघ–संस्थाहरूका प्रतिनिधिसँग साउदी भ्रमणमा रहेका नेपाली पत्रकारहरुले नेपाली श्रमिकका समस्या र समाधानका विषयमा छलफल गरेका हुन् ।
नेपाली अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेलले साउदीमा नेपाली श्रमिकले धेरै समस्या भोगिरहेको बताँउदै समस्या समाधानमा कठिनाइ रहेको बताए । भौगोलिक रूपमा ठूलो रहेको साउदीमा ४ लाखभन्दा बढी नेपाली कार्यरत छन् । ‘यहाँ कुनै ठाउँमा नेपालीलाई समस्या पर्दा तुरुन्तै पुग्न सक्ने अवस्था छैन, अझ कानुनी कठिनाइ पनि उत्तिकै छन्’ उनले भने ।
नेपाल सरकारले साउदीका लागि न्यूनतम १ हजार तलब र खाना खर्चबापत ३ सय रियाल पारिश्रमिक तोकेतापनि व्यवहारिक रुपमा यो व्यवस्था लागू नभएको अध्यक्ष पौडेलको भनाइ छ । ‘नेपाल सरकारले पारिश्रमिक तोकिदिएको त छ तर, यहाँ व्यवहारमा भने लागू भएको पाँइदैन’, उनी भन्छन्, ‘दुई देशबीच छिट्टै श्रम सम्झौता गरेमात्र यो सम्भव हुन्छ । नेपालको एकपक्षीय अडानले मात्र श्रमिकले भनेअनुसारको पारिश्रमिक पाउने देखिदैन ।’
साउदीमा अलपत्र पर्ने नेपालीको संख्या बढेको बताउँदै उनले वैदेशिक रोजगारीमा हुने विकृति रोक्न नेपालबाट नै कडाइ गर्नुपर्ने बताए । ‘यहाँ आउने श्रमिकहरु आफ्नो घरदैलोबाटै ठगिएको पाइन्छ्,’ उनले भने, ‘यहाँ दैनिक सयौं समस्या आउँछन् । संघ–संस्थाले पैसा उठाएर समस्या समाधान गर्न पनि सम्भव हुँदैन । यसरी बिचल्लीमा पर्ने नेपालीको व्यवस्थापनको लागि नेपाल सरकारले नै छुट्टै कोष खडा गर्नुपर्छ ।’
छलफलमा नेपाली संघ–संस्थाका प्रतिनिधिहरुले साउदीमा कार्यरत नेपाली श्रमिकका समस्या उजागर गर्न मिडियाकर्मीलाई आग्रह गरे ।
नेपालबाट साउदी भ्रमणमा रहेका वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष तथा रोजगार मिडियाका प्रधान सम्पादक उद्वब भट्टराई, जनसबाल राष्ट्रिय दैनिकका रामजी बगाले र प्रवास खबर डटकमका बिनेश खनालले साउदी अरबमा रहेका नेपालीको आवाज उठाउने प्रतिबद्धता जनाए ।
छलफलमा २ दर्जनभन्दा बढी प्रतिनिधि सहभागी थिए।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीका उपाध्यक्ष एवम् ग्लोबल आइएमई बैंकका राम बहादुर क्षेत्री, अन्तर संस्था समन्वय समितिका प्रमुख सल्लाहकार दीपक रेग्मी, अन्तर्राष्ट्रिय झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापा, नेपाली जनप्रगतीशिल मंच पश्चिम एसियाका सदस्य कमल शाही, महासचिव नागेश तामाङ, युवा सेवा समाज साउदीका अध्यक्ष नवराज थापा, किराँत अयोख्या समाज साउदीका अध्यक्ष विज्ञान राई, वैदेशिक रोजगार श्रमिक समन्वय समितीका प्रतिनिधी अमृत घिसिङ्ग, याक्थुङ्ग चुंगलुङ्ग साउदीका महासचिव एवम् अनटाईम टिभीका पत्रकार राज चेम्जोङ्ग, पिटी अनलाइनका पत्रकार सुन्जित तामाङ, रोम लामा, याम तमु, मोहन अधिकारी, टंक पाठक, खगेन्द्र बराल, युवराज भण्डारीलगायतको उपस्थिति रहेको थियो ।