कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुले त्रिभुवन विमानस्थलबाट सहज आवातजावतको सुविधा पाउने भएका छन । नेपाली व्यवसायी संघ कतारमा आवद्ध रहेर कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहज आवातजावतका लागि नेपाल सरकार र संघबीच सम्झौता भएको छ ।

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँबरको उपस्थितीमा वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आयार्च, वैदेशिक रोजगार बोर्डकी निर्देशक मैया कडेल र नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन ।

उक्त सहकार्यसँगै अब नेपाली व्यवसायी संघ कतारमा आबद्ध रहेका नेपाली व्यवसायीहरुले त्रिभुवन विमानस्थलबाट आवातजावत गर्दा सहजिकरणको विशेष सुविधा पाउने छन भने संघले कतारमा रहेका प्रवासी नेपाली कामदारहरुको राहत, उद्दार, स्वदेश फिर्ता तथा पुर्नएकीकरणका लागि सरकारसँग सहकार्य गरेर काम गर्नेछ ।

कतारका नेपाली व्यवसायीहरुले त्रिभुवन विमानस्थलमा सहज आवतजावतको सुविधा पाउने

कार्यक्रममा संघका उपाध्यक्ष नरेन्द्र भाटले व्यवसायीहरुले लामो समयदेखि उठाँउदै आएको सहज आवातजावतको मागलाई सम्वोधन गरेकोमा श्रम मन्त्रालय परिवारलाई आभार प्रकट गर्दै सम्झौता अनुसार वैदेशिक रोजगार बोर्ड, विभाग तथा सरोकारित निकायसँग सहकार्य गरेर अगाडि बढने प्रतिवद्धता व्यक्त गरे ।

श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले नेपाली व्यवसायी संघ कतारले विगतदेखि नै प्रवासमा रहेका नेपाली कामदारहरुको उद्धार, राहत, स्वदेश फिर्तिदेखि लिएर आपतविपत पर्दा नेपाली दूतावाससँगको सहकार्यमा विभिन्न काम गर्दै आएकोमा अब सहकार्य थप मजबुद हुने विश्वास लिएको बताए । उनले भने –‘कतारमा रहेका नेपाली व्यवसायीहरुलाई त्यहाँको विमानस्थलमा सहज आवातजावतको सुविधा हुदा आफ्नै देशको विमानस्थलमा भने झन्झट व्योहोर्नुपर्ने अवस्था यो सहकार्यसँगै अन्त्य हुनेछ ।’

कतारका नेपाली व्यवसायीहरुले त्रिभुवन विमानस्थलमा सहज आवतजावतको सुविधा पाउने

श्रम मन्त्री शेरबहादुर कुँबरले स्वदेश तथा विदेश जहाँ रहेपनि आफ्ना नागरिकको सुरक्षा र हकहित प्रदान गर्नु सरकारको दायित्व भएको बताउदै प्रवासमा व्यवसाय गरिरेहका व्यवसायीहरुले आफ्नै देशमा आउदाजादा भोग्नुपरेको अफ्ठयारोलाई सहजिकरण गर्ने उद्देश्यले यो सहकार्य गरेको बताए ।

नेपालबाट श्रम स्वीकृति लिई गएका र कतारमा प्रवासी व्यवसायीका रुपमा रहेका नेपालीहरुको आवतजावतका केही असहज प्रकृया अन्त्य गरी विभागबाट परिचय पत्र प्रदान गर्ने र नेपाली कामदारहरुको उद्दार, राहत, स्वदेश फिर्ती तथा पुर्नएकीकरणका लागि तीनै पक्षले सहकार्य गर्ने कुरा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ ।

कतारका नेपाली व्यवसायीहरुले त्रिभुवन विमानस्थलमा सहज आवतजावतको सुविधा पाउने

साथै त्रिपक्षीय सम्झौताले वैदेशिक रोजगारमा जाने कामदारको हकहितको संरक्षण, सुरक्षित वैदेशिक रोजगार सम्बन्धी आधिकारिक सूचना संप्रेषण, श्रम स्वीकृति उपलब्ध गराउने, कामदारलाई गन्तव्य मुलुकमा समस्या परेमा उद्दार गर्ने, राहत प्रदान गर्ने र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनएकीकरण सम्बन्धि नेपाल सरकारको कार्यलाई सहयोग मिल्ने अपेक्षा सरकारले लिएको जनाइएको छ ।

हस्ताक्षर गरेको सम्झौता पत्रको समय २ वर्षको हुने छ । साथै तिनै पक्षको सहमतिका आधारमा समय सीमा थप गर्न सकिने कुरा पनि पत्रमा उल्लेख गरिएको छ । त्यस्तै सम्झौता पत्रमा उल्लेख गरिएका कुरालाई समय अनुसार संशोधन वा परिमार्जन गर्नु परेमा तिनै पक्षको समझदारीको आधारमा अगाडी बढाउने सहमति भएको छ ।

पत्रमा तिनै पक्षले आ आफ्नो क्षेत्रबाट गर्नुपर्ने कामलाई स्पष्ट उल्लेख गरिएको छ ।