विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कांग्रेसले गरायो निर्वाचन आयोगको ध्यानाकर्षण

news-details

आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूलाई मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै नेपाली कांग्रेसले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मंगलबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न ध्यानार्षण गराएका हुन् ।

थापा र शर्माले सोमबारमात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर त्यसबारे ध्यानाकर्षण गराएका थिए ।

आयोगसँगको छलफलपछि महामन्त्री शर्माले कांग्रेसले विगतदेखि नै विदेशमा रहेका नेपालीको मताधिकारबारे सरकार र आयोगको ध्यानाकर्षण गराउँदै आएको र त्यसलाई अहिले निर्णायक मोडमा पुर्‍याउन आफूहरूले प्रयास गरेको बताए ।

‘विदेशमा लाखौँ नेपाली छन्, जसले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेको छ, उनले मताधिकार किन नपाउने रु हामीले विदेशमा रहेका नेपालीले पनि संवैधानिक व्यवस्थाबमोजिम मतदान गर्न पाउनुपर्छ भनेर सरकार र आयोगको ध्यानाकर्षण गराएका हौँ,’ अर्का महामन्त्री गगन थापाको भनाई छ ।

सर्वोच्च अदालतले दुई वर्षअघि नै विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउने व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासको ६ बुँदे परमादेशमा विदेश गएका नेपालीको मताधिकार सुनिश्चित गर्न विदेशस्थित कूटनीतिक नियोगले तयार गर्ने लगतलाई आधिकारिक मान्न, भोटिङका विभिन्न प्रविधि प्रयोग गर्न र आवश्यक परे ‘पाइलट टेस्ट’ गर्न भनेको थियो ।

गैरआवासीय नेपाली संघलेसमेत विदेशमा रहेका नेपालीलाई मताधिकार दिन माग राख्दै आवश्यक सहयोग गर्ने बताउँदै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *