राजधानी केभका सबै नेपालीले युक्रेन छोडे

राजदूत खड्का र एनआरएनए अध्यक्ष पन्त सिमा क्षेत्रमा खटिए
news-details

रूस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन्।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनमा नेपालीहरू सुरक्षित रहेको राजधानी केभका सबै नेपालीले युक्रेन छोडेको जानकारी दिएका छन्।

रूस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै राजदूत खड्काले युक्रेनमा रहेका नेपालीहरू पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा सकुशल पुगेको जानकारी दिए।

समितिका अनुसार मंगलबारसम्म २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका हुन्।

यसअघि राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्वका कारण विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो।

उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष बद्री केसीले रूसमा रहेका नेपालीले समेत नियमित रूपमा युक्रेनका नेपालीसँग सम्पर्क गरिरहेको जानकारी दिए।

उनले एनआरएनएका राष्ट्रिय समितिहरू उद्धार कार्यमा सकृय रूपमा लागिपरेको जानकारी दिँदै एनआरएनए पोल्याण्डको सकृयतामा आर्थिक सहयोग संकलनको तयारी थालिएकोसमेत जानकारी दिए।

रूसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी केभमा रहेका सम्पूर्ण नेपालीहरुले युक्रेन छोडेको जानकारी दिए। उनले पछिल्लो समयमा रूसमा रहेका नेपाली विद्यार्थी चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिए।

उनले पश्चिमा मुलुकले रूससँगको हवाई उडानमा प्रतिबन्ध लगाएकाले रूसमा बस्ने नेपालीमा समेत संसय थपिएको बताए।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले गैरआवासीय नेपाली संघले अप्ठ्यारामा परेका नेपालीलाई खाना बस्नको व्यवस्था गरेको जानकारी दिए।

सुवेदीले युक्रेनमा रहेका नेपालीको संख्या सोचे भन्दा अझ बढी हुनसक्ने बताए।

समितिका सदस्य सचिव चिरन्जीवी खड्काले बैठकमा नेपालीको उद्धारको लागि सीमा क्षेत्रमा खटिएको अनुभव सुनाएका थिए। उनले अत्यधिक चिसोका कारणले युद्ध पीडित नेपाली थप समस्यामा रहेको जानकारी दिए।

एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले नेपालीलाई खाना बस्ने र परिचयपत्र लगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जनकारी दिए। उनले अलपत्र परेर त्यहाँ पुगेका नेपालीले आफ्नो सञ्जाल बनाएर एक अर्कालाई सहयोग गरेको बताए।

उनले युद्वपीडित नेपालीलाई आर्थिक अभाव रहेको बताए। उनले आफ्नै रेष्टुरेन्ट खाली गरेर १६ जना नेपालीलाई बस्न र खानाको व्यवस्था गरेको जानकारी दिए।

रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले रोमानियमा आएका २३ जना नेपाली सुरक्षित गन्तव्य तिर लागेको जानकारी दिए।

उनले केही नेपाली अन्जानमा हंगेरीको सिमामा पुग्दा अलपत्र परेकोसमेत बताए।

बैठकमा गैरआवासीय नेपाली संघ चेक रिपब्लिकका अध्यक्ष यदु पन्थी, सुरेन्द्र श्रेष्ठ (हङग्रेरी), सन्तोष भट्टराई (जर्मनी) सोनाम शेर्पा (स्लोभाकिया), संजय कार्की (हङगेरी), निलम आचार्य (जर्मनी), लगायतले आफ्नो भनाईहरु राखेका थिए।

बैठकमा युक्रेनको युद्वबाट ४ दिन हिँडेर बाँचेका दाङका बिक्रम खड्काले युद्वमा परेका बेला सामना गरेको कठिनाइ सुनाएका थिए।

उनले युक्रेनदेखि हंगेरी पुग्दा बाटोमा बम पड्केको र ठुल्ठूलो आवाज सुनेको अनुभव सुनाए।

यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त युद्वपीडितको उद्धारको लागि सोमबारदेखि पोल्याण्डको सिमा क्षेत्रमा आफैं खटिएका छन्।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का बुधबारदेखि सिमा क्षेत्रमा आफैं खटिएर नेपालीको उद्धार गर्ने तयारीमा लागेको रूस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *