ग्रिसमा भएको दुर्घटनामा मृत्यु भएका चार नेपालीको पहिचान खुल्यो

news-details

गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा चार जना नेपालीको मृत्यु पुष्टि भएको छ।

गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको हो।

मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन्।

ग्रीस प्रहरीले पठाएको फोटो प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) को वेबसाइटमा राखिएको थियो। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको भिएनास्थित नेपाली राजदूतावासले जनाएको छ।

दूतावासका द्वितीय सचिव धनञ्जय मेहताले कन्सुलर सेवा विभागबाट सोमबार दूतावासलाई चार वटै शवको पहिचान भएको जानकारी प्राप्त भएको र अब शवलाई नेपाल पठाउने प्रक्रिया शुरु गरिसकेको बताए।

दुर्घटनामा घाइते भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य रहेको छ । भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्य सोही गाडी दुर्घटनामा परेर बाँच्न सफल भएका थिए।

गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा चार नेपालीसहित सातजना आप्रवासीहरूको सो दुर्घटनामा मृत्यु भएको थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *