स्वास्थ्य सामाग्री सरकारलाई बुझाएका कतारका व्यवसायीलाई दूतावासको सम्मान

news-details

कोभिड १९ को महामारीबाट समस्यामा परेका नेपालीलाई एक करोड २० लाख बराबरको अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकेका कतारमा रहेका नेपाली व्यवसायीलाई नेपाली दूतावास कतारले उच्च प्रशंसा गर्दै सम्मान प्रदान गरेको छ ।

नेपाली दूतावास कतारद्धारा आइतबार आयोजित कार्यक्रममा राजदूत डा.नारदनाथ भारद्वाजले स्वास्थ्य सामाग्री पठाउ अभियानमा सहयोग गर्ने ५२ जनालाई उच्च सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरेका छन् ।

नेपाल व्यवसायी संघ कतारको नेतृत्व र कतारस्थित नेपाली राजदूतावासको सहकार्य र समन्वयमा नेपालमा स्वास्थ्य सामाग्री पठाउन राजदूत डा.नारदनाथ भारद्वाजको संरक्षकत्वमा ‘नेपालका लागि कोरोना राहत समिति–कतार–२०२१’ गठन गरेर सहयोग अभियान सुरु गरेको थियो ।

राजदूत भारद्वाजले नेपाललाई समस्या पर्दा कतारमा रहेका व्यवसायी एकजुट भएर सहयोग प्रदान गर्नु सुखद भएको भन्दै भोलिका दिनमा पनि यस्तै कार्य गर्न हौसला मिलोस् भनेर प्रशंसा पत्र प्रदान गरेको बताए ।

कार्यक्रम संघका अध्यक्ष महेन्द्रप्रसाद चौलागाईले दूतावासको सम्मानले आम व्यवसायीलाई थप उर्जा मिलेको बताए । ‘ दूतावासको उत्प्रेरणारुपी माया र अभिभाकत्वले हामी सम्पूर्ण व्यवसायीहरूमा थप उर्जा थपिएको छ,महामहिम राजदूतका साथै दूतावास परिवार लगायत सम्पूर्ण सहयोगी मनहरूमा नेपाल व्यवसायी संघ कतार हार्दिक नमन गर्दछ’ अध्यक्ष चौलागाईले भनेका छन् ।

दूतावास र नेपाली व्यवसायी संघ कतारले पठाएको भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर र नेजल क्यानुला नेपाली व्यवसायी संघ कतारका प्रतिनीधिले गत असार १० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोख्रेललाई विमानस्थलमा नै पुगेर हस्तान्तरण गरिसकेका छन् ।

एक करोड २० लाख मूल्य पर्ने स्वास्थ्य समाग्रीहरुमा १४ वटा भेन्टिलेटर, ४२ वटा अक्सिजन कन्सन्ट्रेटर, दुई हजार एक सय वटा पल्स अक्सिमिटर र ५० वटा नेजल क्यानुला रहेका छन् ।

स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयमार्फत सातै प्रदेशका प्रादेशिक अस्पतालहरुलाई समान संख्यामा वितरण गर्नका लागि संघले अनुरोध गरेको छ । हरेक प्रदेशले दुई वटा भेन्टिलेटर, ६ वटा अक्सिजन कन्सन्ट्रेटर, ३०० वटा पल्स अक्सिमिटर, सात वटा नेजल क्यानुला पाउनेछन् । संघले चाइनामा स्वास्थ्य सामाग्री खरिद गरेर कार्गोसहित आफ्नै खर्चमा स्वदेश ल्याएर हस्तान्तरण गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *