प्रभु बैंक र युकेएडबीच सम्झौता, कोरिया र भारतमा रहेका नेपालीको बैंक खाता खोलिने
- भदौ २६, २०७६
- 0
प्रभु बैंकले लिमिटेडले दक्षिण कोरिया र भारतमा रहेका करिब २१ हजार नेपालीको खाता खोल्ने गरी युकेएड सक्षमसँग सहकार्य गरेको छ ।
कोरिया र भारतमा रहेका नेपालीको खाता खोल्न दुई संस्थाबीच भएको सम्झौता पत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र युकेएड सक्षमका टोली प्रमुख निर्मल दाहालले हस्ताक्षर गरेका छन् ।
बैंकले बचत खाता खोलिदिने तथा नेपालमा रहेका उनीहरुको परिवारमध्ये ६ सयलाई ऋण लगानी पनि गर्नुपर्ने सम्झौतामा उल्लेख छ । बैंकले विदेशमा रहेका नेपालीलाई वैदेशिक रोजगार बचतपत्र र बीमालेख किन्न प्रोत्साहन गर्ने भएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई ब्याज अनुदानको ऋण उपलब्ध गराएर उद्यमशीलता विकास गर्नसमेत बैंकले भूमिका खेल्ने बताएको छ ।
१८ महिने यो परियोजनाका लागि युकेएड सक्षमले १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
काठमाडौंमा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले विदेशबाट औपचारिक माध्यमबाट मात्रै रेमिटेन्स भित्र्याउन प्रोत्साहन गर्नेगरी सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले हुण्डी नियन्त्रणका लागि सक्षमसँगको सहकार्य महत्त्वपूर्ण हुने बताए ।
सक्षमका टोली प्रमुख निर्मल दाहालले पनि प्रभु बैंकसँगको सहकार्यले औपचारिक माध्यमबाट रेमिटेन्स भित्र्याउने काममा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।