नेपालमा केयर वर्क : व्यवसायिककी पारिवारिक कर्तव्य !

news-details

महिलाहरु घरको सबै काम गर्दछन्, विहान उठ्दादेखि राति नसुतुञ्जेल उनीहरुको काम हुन्छ । उनीहरुले नै गरेको कामबाट घर चलिरहेको हुन्छ । परिवार चलिरहेको हुन्छ तर त्यही महिलालाई के काम गर्छिन भन्दा अधिकांशको जवाफ हुन्छ केही काम छैन । के घरमा गरेको चै काम नै होइन ? के पारिश्रमिक नपाउने काम नै होइन, के पैसा नकमाउने काम महिलाले मात्र गर्नुपर्छ ? के घरको कामको कुनै मुल्य वा मान्यता छैन ? प्रश्न उठ्न थालेको छ ।

यही प्रश्नले अहिले बहस शुरु गराएको छ । ‘केयर वर्क’ अर्थात हेरचाह कार्य । अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट केयर वर्कको विषयमा बहस चल्न थालेपछि नेपाली बजारमा यो विषय औपचारिकरुपमा प्रवेश भएको छ ।

सामान्यतया अरू व्यक्तिको शारीरिक, मानसिक वा भावनात्मक आवश्यकताको हेरचाह गर्न गरिने सबै प्रकारका काम नै केयर वर्क हो । यो कार्य पारिवारिक, सामाजिक वा पेशागत जिम्मेवारीका रूपमा हुने गर्छ ।

अहिले सरकारी तथा गैरसरकारी संघसंस्था तथा अधिकारकर्मीहरुले ‘केयर वर्क’ लाई व्यवस्थित र मर्यादित बनाउनका लागि बहस चलाउन थालेका छन् । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम), अक्सफाम नेपाल, ‘युवालय’जस्ता संघसंस्थाले नेपालमा केयर वर्क, यसको महत्व र व्यवस्थापनका विषयमा अध्ययन, छलफल र बहस चलाइरहेका छन् ।

सामान्यतया केयर वर्कमा पारिश्रमिक तथा सेवासुविधा नदिने वा कम दिने प्रकारको काममा पर्दछ । परिवारभित्र वा समुदायभित्र आफन्त वा नजिकका मानिसहरूलाई बिना तलब, सेवासुविधा गरिने कार्य अनपेड केयर वर्क हो । सामाजिक रूपमा अत्यन्त मूल्यवान भए पनि पारिश्रमिक, सेवा सुविधा उपलब्ध हुँदैन भने कामको कुनै औपचारिक मान्यता पाइदैन । यस्ता काममा प्राय गरी खाना पकाउने, घर सफा गर्ने, लुगा धुने, बालबालिका वा वृद्धबृद्धाको हेरचाह गर्ने, बिरामीको सेवा गर्ने लगायत घरायसी काम पर्दछ । नेपाली समाजमा हेर्ने हो भने यस्तो काम अधिकांश महिलाहरुले नै गर्ने गरेका छन् ।

केयर वर्क अर्थात् हेरचाह कार्य भनेको नेपालको समाज र अर्थतन्त्रको महत्वपुर्ण भूमिका निभाउने श्रमप्रणाली हो, जुन देखिँदैन, मूल्याङ्कन गरिँदैन र औपचारिक रूपमा मान्यता पनि पाउँदैन । नेपालमा यो कार्य महिलाहरूले गर्ने भएकाले खासै बाहिर ल्याउने गरिएको छैन ।

यद्यपि, यस्ता कामहरू पारिवारिक जिम्मेवारी मानिन्छन्, तर यी कामले अर्थतन्त्र, सामाजिक सन्तुलन र लैंगिक समानतामा ठूलो प्रभाव पारिरहेका छन् । यसैले आजको समयमा नेपालमा केयर वर्कलाई सार्वजनिक बहस बनाउन थालिएको छ ।

महिलाहरू दैनिक औसत ६ घण्टा केयर वर्कमा खर्च गर्छन्, जुन पुरुषहरूको तुलनामा तीन गुणा बढी हो । यस्तो समयको खपतले महिलाहरूलाई औपचारिक रोजगारी, शिक्षा, वा निर्णय प्रक्रियामा सहभागी हुन कठिन बनाउँने जानकारहरु बताउँछन् । नेपालमा ३९.७ प्रतिशत महिलाहरूले घरेलु जिम्मेवारीका कारण काममा नजाने गरेको बताइन्छ ।

केयर वर्क गर्दा अर्थतन्त्रमा महत्वपुर्ण योगदान गर्छ तर औपचारिक रूपमा कुनै मूल्यांकन हुँदैन । एक अध्ययनका अनुसार केयरवर्कबाट नेपालको अर्थतन्त्रमा ३२ प्रतिशत योगदान पु¥याएको छ । विज्ञहरूले केयर वर्कलाई ‘अदृश्य आर्थिक योगदान’ भनेर व्याख्या गर्छन् । यो योगदान नेपालको कुल ग्राहस्थ उत्पादनमा ६ देखि १७ प्रतिशत हुने गरेको अध्ययनले देखाएको छ ।

केयर वर्कका विषयमा सबैको दृष्टिकोण वा तर्क भिन्न भिन्न पाउने गरिन्छ । केयर वर्कलाई पारिश्रमिक दिनु वा आर्थिक मूल्यमा बाँध्नु ‘पारिवारिक सम्बन्ध’ र ‘कर्तव्य बोध’ सँग जोड्ने गरिन्छ । आफ्नो परिवारका लागि गरेको घरको काममा अधिकार खोज्नु गलत हुने उनीहरुको तर्क छ । यसले घरभित्रको आपसी सम्बन्धलाई औपचारिक, लेनदेनमुखी बनाउने डर देखिन्छ । साथै, यसले राज्यको वित्तीय भार पनि बढाउने भन्दै केही आलोचकहरू केयर वर्कको औपचारिकीकरणको विपक्षमा उभिएका छन् ।

नेपालको श्रम ऐन २०७४ मा घरेलु कामदारलाई श्रमिकको रूपमा समावेश गर्ने व्यवस्था छ, तर कार्यान्वयन भने पटक्कै छैन । यसले स्पष्ट देखाउँछ कि नीति बनाउनु मात्र पर्याप्त छैन, नियमन, कार्यान्वयन र जनचेतना अनिवार्य छ ।

नेपालमा काम गर्ने घरेलु कामदारलाई कानुनले औपचारिक क्षेत्रका कामदार सरह सेवा सुविधा दिनु पर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन नसक्दा उनीहरू सुविधाबाट वञ्चित भएका हुन् । घरेलु कामदारको श्रम अधिकारका लागि नेपालमा छुटै कानुन नभए र भएका कानुनको पनि कार्यान्वयन नहुँदा घरेलु कामदार रोजगारदाता र सरकारबाट उपेक्षित बनेका छन् ।

अन्तर्रााष्ट्रिय श्रम संगठन (आइएलओ) को तथ्यांकअनुसार विश्वभर झन्डै ५ करोड २६ लाख घरेलु श्रमिक रहेका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले गरेको एक अध्ययनअनुसार नेपालमा करिब ३ लाखको हारहारीमा घरेलु श्रमिक कार्यरत रहे पनि अधिकांशले कानुनले निर्धारण गरेको सेवा सुविधा पाउने गरेका छैनन् । यसरी काम गर्ने महिला तथा पुरुषको सामाजिक सुरक्षा र कानुन अधिकार लागू गर्ने विषयमा सरकारले ध्यान दिएको छैन ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले प्रस्ताव गरेको ‘५ आर’ ( कम गर्ने, मान्यता दिने, काम बाँडफाँड गर्ने, पुरस्कार दिने, प्रतिनिधित्व गराउने) लागु गर्ने हो भने केयर वर्कले औपचारिक मान्यता पाउने छ । केयर वर्कको पहिचान गरेर सबैको सहभागिताबाट नीति निमार्णमा पु¥याउन सके नेपालमा केयर वर्कले सार्थकता मात्र पाउने थिएन, समुन्नत नेपाल बनाउने अभियानमा सहयोग पुग्ने थियो ।

एक दशकदेखि युवाको क्षेत्रमा काम गरिरहेको संस्था युवालयले घरेलु कामदारसम्बन्धी सी १८९ लाई अनुमोदन गर्नका लागि विभिन्न सरोकारवाला निकाय, सरकारी पक्ष तथा सभिल सोसाइटीसँग पहलकदमी गर्दै आइरहेको छ । युवालयका अध्यक्ष धर्मराज रिमाल केयर वर्कजस्तो अभियानलाई सम्मानित, पेशागत र मर्यादित बनाउनका लागि विशेषगरी युवाहरुले पनि पहल गर्नुपर्ने बताउँछन् ।

युवालयले गरेको अध्ययन अनुसार अव घरेलु कामदार र केयर वर्करहरुको तथ्यांक स्थानीय तहमा राख्न थाल्नुपर्छताकी उनीहरुको संख्या र योगदानका बारेमा जानकारी रहन्छ । अहिले केही नगरपालिकाहरुले घरेलु कामदार तथा अन्य श्रमिकहरुको तथ्यांक राख्न थालेका छन् ।

नेपालजस्तो विकासोन्मुख देशमा केयर वर्क जस्तै श्रमलाई ’काम’ नै मानेर सम्मान गर्न ढिलो गर्नुहुन्न । जबसम्म महिलाले दिने निःशुल्क श्रमलाई सामाजिक र आर्थिक दृष्टिले मान्यता दिइँदैन, तबसम्म वास्तविक लैंगिक समानता, समावेशी विकास र न्यायपूर्ण समाज सम्भव हुँदैन ।

केयर वर्कलाई पूर्ण व्यवसायिक बनाउने कि पारिवारिक कर्तव्यको रूपमा राख्ने भन्ने बहसको विषय हुन सक्छ, तर यसको सामाजिक, आर्थिक र नीतिगत मान्यता दिनु अबको आवश्यकता हो । यस्तो कार्यलाई अवमूल्यन गर्दा महिलाको श्रम र क्षमता दुवै दबिन्छ । तसर्थ, अबको नेपालले केयर वर्कलाई सम्मानपूर्वक हेर्नु र नीति निर्माणमा समावेश गर्नु जरुरी छ ।

अब यो बहसको विषय मात्र होइन, नीति र व्यवहारको कार्यसूची बन्नुपर्ने समय आएको छ । अनि सबै पुरुषले केयर वर्कमा महिलालाई र महिलाले पुरुषलाई कति सहयोग गर्न सक्छन् आफैले आफैलाई मुल्यांकन गर्न आवश्यक छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *