राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारणसभा सम्पन्न
- भदौ ६, २०७६
- 0
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । विशेष साधारणसभाले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्मातासम्बन्धी कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङको सभापतित्वमा सम्पन्न विशेष साधारणसभामा अध्यक्ष गुरुङले प्रस्ताव प्रस्तुत गर्दै बैंकले विभिन्न सहायक कम्पनीमार्फत ब्यवसाय गरी आर्थिक सवलीकरणमा सहयोग पुर्याउने विचार ब्यक्त गरे। विशेष साधारणसभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका महालेखा नियन्त्रकको कार्यालय, उर्जा मन्त्रालयका प्रतिनिधि तथा साधारण शेयरधनी डमरु बल्लभ घिमिरेले राखेको जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले जवाफ दिए ।
साधारणसभामा बैंकका सञ्चालक समितिका सदस्यहरु रबीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, विद्यावारीधि सिग्देल, अर्जुनबहादुर अधिकारी, माधवप्रसाद दाहाल, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्वय कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपककार्यकारी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देबेशप्रसाद लोहनी तथा बैंक भित्र क्रियाशिल तीनवटै ट्रेड यूनियनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २२२ वटा शाखा कार्यालय, १७८ वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ। चालु आर्थिक वर्ष २०७५/०७६ मा बैंकले १ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरी ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा कमाएको छ ।