‘कृषि क्षेत्रको दिगो विकासका लागि सरकारको स्पष्ट नीति आवश्यक’
- जेष्ठ ४, २०८२
- 0

विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले कृषि क्षेत्रको दिगो विकासका लागि नीति, प्रविधि, बजारीकरण, बिमा र सहजीकरणका पक्षमा सरकारको स्पष्ट कदम आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
आइतबार नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा नेपाल कुचो संघ, रुद्राक्ष व्यवसायी संघ, नेपाल यार्सागुम्बा संघ तथा नेपाल डेरी एसोसिएसनको संयुक्त आयोजनामा भएको ‘कृषि क्षेत्रका चुनौती, सम्भावना र नवप्रवर्तनको खोजी’ विषयक छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरूले आ–आफ्ना क्षेत्रका समस्या, चुनौती र सम्भावना स्पष्ट रूपमा राखेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले अगामी दिनमा किसानका समस्या समाधान गर्न महासंघले कृषि क्षेत्रसँग सम्बन्धीत संघ संस्थासँग छलफल गरेर अघि बढ्ने बताए । उनले सरकारले पनि कृषि क्षेत्रलाई व्यवस्थित नीति तथा कार्यक्रम ल्याएर अघि बढाउनुपर्ने सुझाव दिए ।
उनले भने,‘आगामी दिनमा किसानका समस्या के छ हेरेर त्यसको समाधान गर्न महासंघले कृषि क्षेत्रसँग सम्बन्धित संघ संस्थासँग छलफल गरेर अघि बढ्ने नै छ । सरकारले पनि कृषि क्षेत्रलाई व्यवस्थित नीति तथा कार्यक्रम ल्याएर अघि बढाउनुपर्छ यही सुझाव दिन चाहन्छु ।
यस्तै ,नेपाल पलाइउड एसोसिएसनका अध्यक्ष होमप्रसाद घिमिरेले यस क्षेत्रमा बिमाको व्यवस्था नभएको बताउँदै सरकारले अध्ययन गरेर सहजीकरण गर्नुपर्ने धारणा व्यक्त गरे। उनले पलाइउडमा ध्यान दिनसके यसले राजश्व र रोजगारीमा योगदान पुर्याउने बताए ।
नेपाल बिउ व्यवसायी संघका अध्यक्ष सुरेश गुरुङले सरकारी लापरवाहीका कारण अर्बौंको बीउ विदेशबाट आयात भइरहेको बताउँदै रैथाने बीउको संरक्षण र प्रवर्धनमा जोड दिए ।
त्यस्तै नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जलवायु परिवर्तनका कारण पछिल्लो समय उत्पादनमा ह्रास आएका बताउँदै सरकारले जलवायुमैत्री किरा, उपचार गरिएका विरुवा उत्पादन गनुपर्ने बताए ।
उनले अलैँचीको क्षेत्रमा बिमा गर्न कम्पनीहरुले वास्ता नगर्दा किसानहरु समस्या परेको र तत्काल सरकारले सो विषयमा ध्यान दिन आग्रह गरे । उनले कृषिजन्य वस्तुहरु निर्यात गर्नको लागि अन्य देशहरुको मापदण्ड पूरा गर्न ल्याब टेष्ट नभएको बताउँदै त्यसमा पनि ध्यान दिन आवश्यक रहेको बताए ।
बिउ व्यवसायी संघका निवर्तमान अध्यक्ष बसन्त मरहठाले आउँदै गरेको कृषि ऐन किसान र क्षेत्रमैत्री हुनुपर्ने माग गर्दै बीउ संरक्षण र उत्पादन वृद्धिमा जोड दिए ।
नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारीले मध्य पहाडी क्षेत्रलाई कफि पकेट जोन घोषण गर्न माग गरेका छन् । उनले नेपालमा कफीको सम्भावना विभिन्न ठाउँमा रहेका बताउँदै सरकारले त्यसको लागि आवश्यक पहल गर्नुपर्ने बताए ।
नेपाल सुपारी उत्पादक तथा व्यवसायी संघका अध्यक्ष देवी प्रसाद खतिवडाले सुपारीको लागि मुख्य बजार भारत रहेकाले सरकारले निर्यातको लागि सहजीकरण गर्न लागि आवश्यक पहल गर्न आग्रह गरे ।
खतिवडाले सुपारीको दाना बाहेक त्यसको पातको दुनाटपरी बाहेक अन्य विभिन्न किसिमका सामग्री बनाउन सकिने बताए । उनले आगामी दिनमा सरकारले किसानलाई आवश्यक सहजीकरण गरेर यसको व्यवसायिक खेतीतर्फ लैजान आग्रह गरे ।
त्यसैगरि नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले डेरी क्षेत्रमा मोही प्रवर्धनका लागि एसोसिएसनले गरेका कार्यक्रमबारे जानकारी दिँदै यसको बजार विस्तारमा सरकारको भूमिका महत्वपूर्ण हुने बताए ।