राती १० बजेपछि होटल बन्द गर्ने सरकारी नीति : पर्यटनमैत्री कि पर्यटन विरोधी ?
- बैशाख ३०, २०८२
- 0

राजधानीका होटल व्यवसायीहरू राति १० बजेपछि होटल, रेष्टुरेन्ट तथा मनोरञ्जन स्थलहरू जबर्जस्ती बन्द गराउने सरकारी निर्णयविरुद्ध जिल्ला होटल व्यवसायी संघ काठमाडौँ र उद्योग वाणिज्य संघ काठमाडौले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाएको छ ।
सरकारको यस्तो निर्णयले आक्रोशित भएका व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी तिवारी समक्ष “यो नीतिले पर्यटन प्रवर्द्धन होइन, पर्यटन ठप्प पार्ने भन्दै सच्याउनका लागि आग्रह गरेका हुन ।
ठमेल, सुन्धारा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, बसपार्क र कलंकीजस्ता क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल प्रायः रातको समयमा हुने गर्छ। अधिकांश अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू बेलुका ढिलो वा राती हुने हुँदा पाहुना यही समयमा राजधानी आइपुग्छन्। होटल प्रवेश गर्नासाथ सिटी बजाउँदै प्रहरी होटल, रेष्टुरेन्ट बन्द गराइरहेको दृश्यले विदेशी पाहुना चकित र निराश हुने गरेका छन्।
‘यो कुनै पनि हिसाबले पर्यटनमैत्री नीति होइन’ जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बराल भन्छन’पाहुना होटल आइपुग्छन्, खाना खान चाहन्छन्, सहरको सांस्कृतिक र रात्रिकालीन जीवन हेर्न चाहन्छन्। तर हामीकहाँ नीति यति कठोर छ कि पाहुनाले नेपाललाई पुनः भ्रमण गर्ने सोच समेत बदल्न सक्छन्।’
बरालको तर्क प्रष्ट छ—आजको काठमाडौँ २०–२५ वर्षअघिको जस्तो अब अँध्यारो, असुरक्षित र सुनसान छैन। अहिले यहाँ उज्यालो सडक छन्, नियमित विद्युत् आपूर्ति छ, सीसीटीभी निगरानी छ, र व्यस्त सहरको गति छ। यस्तो अवस्थामा सुरक्षा देखाएर होटल व्यवसाय बन्द गराउनु आफैँमा लाजमर्दो सोच हो।
होटल व्यवसायीको माग : रातको १२ बजेसम्म सञ्चालनको अनुमति दिइयोस्
उनीहरूको दीर्घकालीन सोच भनेको ‘चौबीसै घण्टा सञ्चालन’ हो। कारण स्पष्ट छ—होटल क्षेत्रले लाखौंको लगानी बोकेको छ, हजारौंलाई रोजगारी दिएको छ, र विदेशी मुद्रा आम्दानीको स्थायी स्रोत बनेको छ।
तर व्यवसायीहरू सरकारको मौनताबाट निराश छन्। पटक–पटक जिल्ला प्रशासन कार्यालय, काठमाडौँ महानगरपालिका र सरोकारवाला निकायहरूमा गुनासो राखिँदासमेत सुनुवाइ नहुनु उनीहरूका लागि थप पीडादायक बनेको छ।
सरकारी नीति : सुरक्षा चेतना कि व्यवसायविरोधी दृष्टिकोण ?
सरकारले हालको नीति सुरक्षालाई आधार मानेर लिएको दाबी गर्छ तर व्यवसायीहरूको प्रश्न छ—के अहिलेको प्राविधिक, पूर्वाधारयुक्त, सञ्चार-संवेदनशील युगमा पनि हामी पुरानै डरको धरातलमा जीउनु पर्ने हो ?
महामारीपछि बल्ल उठ्न खोजेको पर्यटन व्यवसायको मुख्य आधार होटेल व्यवसाय छायामा पर्दा देशको अर्थतन्त्रमा समेत असर पर्ने व्यवसायीहरूको ठहर छ, यसर्थ रात्री १० बजे प्रहरीले सायरन बजाएर होटेल बन्द गराउने काम बन्द हुनु पर्ने माग होटेल व्यवसायीहरूको रहेको छ।