कोशी करिडोर प्रसारण लाइन उद्घाटन गर्न उर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै
- रोजगारमञ्च
- बैशाख ७, २०८२
- 0

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल आउने भएका छन् । मन्त्री खट्टर मंगलबार विहान नेपाल आइपुग्ने समय तालिका रहेको छ ।
संखुवासभामा निर्माण सम्पन्न भएको कोशी करिडोर प्रसारण लाइनको ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी खट्टरले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । संखुवासभामा रहेको बसन्तपुर( बानेश्वर–तुम्लिङटार र ढुङ्गेसाँघु २२० केभीका चारवटा सबस्टेशन र तीन वटा ट्रान्समिशन प्रसारण लाइनको संयुक्त उद्घाटन हुँदैछ ।
कोशी करिडोर अन्तर्गत बानेश्वर बसन्तपुर ३३ किलोमिटर प्रशारण लाइन, बसन्तपुर(ढुङ्गे साँघु ३४ किलोमिटर र बसन्तपुर देखि इनरुवासम्म ७४ किलोमिटर प्रशारणलाईन निर्माण भएको छ ।
सन् २०१६ बाट शुरु भएको आयोजनामा भारत सरकारको सहुलियतपूर्ण ९० मिलियन अमेरिकी डलर ऋण र नेपाल सरकारको २२ मिलियन अमेरिकी डलर गरी ११२ मिलियन अमेरिकी डलर लगानीमा निर्माण सम्पन्न भएको हो ।
यी आयोजनाले कोशी करिडोर प्रसारण लाइनमार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब १,००० मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करिब १,००० मेगावाट, र बसन्तपुरदेखि इनरुवा खण्डमा करिब २,००० मेगावाट विद्युत् प्रवाह गर्न सकिने क्षमता रहेको छ। अरुण र तमोर नदी तथा तिनका सहायक नदीहरूमा निर्माणाधीन जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न कोशी करिडोरको विकास गरिएको हो।
यो आयोजना पूर्वी नेपालमा विद्युत् आपूर्तिको भरपर्दो आधार बनेको छ भने भारतसँगको ऊर्जा व्यापार विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्याउने छ।