सुनको मूल्य अहिलेसम्मकै महंगो, तोलाको ७० हजार

news-details

सुनको मूल्य अहिलेसम्मकै महंगो भएको छ । बिहीबार र शुक्रवार प्रति तोला ७० हजार रुपैया सुनको मुल्य पुग्ना साथ बजार ठप्प प्राय भएको छ ।

अमेरिका र चीनबीचको व्यापारमा भइरहेको विवाद साम्य नभएपछि त्यसको प्रत्यक्ष चाप सुन खरिद–बिक्रीपरेको छ। चीनबाट निर्यात हुने वस्तुमा अमेरिकाले भन्सार दर बढाएसँगै दुई शक्ति राष्ट्रबीच बढेको चिसोपनका कारण लगानीकर्ता सुन किनबेचमा झुम्मिँदा मूल्य ह्वात्तै बढेको हो। चीनबाट आयात हुने वस्तुमा भन्सार महुसुल बढाउने निर्णय अमेरिकाले गरेलगत्तै चीनले पनि अमेरिकी उत्पादनको आयातमा कडाइ गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले सुनको मूल्यवृद्धि हुनुमा अमेरिका र चीनबीच बढेको व्यापार विवाद प्रमुख कारण रहेको बताए। ‘त्यस्तै अन्तर्राष्ट्रिय स्टक मार्केटमा सेयरको भाउ घट्नु र अमेरकी केन्द्रीय बैंक फेडरल रिजर्भले निक्षेपमा दिने ब्याजदर घटाउनुले पनि सुनको मूल्य वृद्धिमा सघाइरहेका छन्,’ उनले भने। सुनको मूल्य वृद्धि भइरहनुका अन्य कारणमा भारतको कास्मिरमा बढेको तनाव र मध्यपूर्वको समस्या पनि रहेको बताइएको छ। यतिखेर लगानीकर्ताले सुनको लगानीलाई सुरक्षित रूपमा लिएको शाक्यले बताए।

लगानीकर्ताको ध्यान सुन किनबेचमा केन्द्रित हुँदा बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार पाँच सय अमेरिकी डलर पुग्यो। निरन्तर सुनको मूल्य वृद्धि हुँदै जाँदा एक साताको अवधिमा नेपालमा प्रतितोला पाँच हजार रुपैयाँले बढेको छ।

अघिल्लो साता प्रतितोला ६५ हजार रुपैयाँ रहेको सुन बिहीबार ७० हजार रुपैयाँमा कारोबार भयो। शाक्यका अनुसार आउँदो डिसेम्बरसम्म पुग्ने अनुमान गरिएको सुनको मूल्य चार महिनाअघि नै उच्चतम बिन्दुमा पुगेपछि मूल्य वृद्धि नरोकिने संकेत देखिएको छ।

मूल्य वृद्धिपछि आन्तरिक व्यवसाय ठप्प भएको व्यवसायीले बताए। तीज लगायत चाडपर्व नजिकिँदै गर्दा कारोबारको कमी आएपछि व्यवसाय ठप्प भएको व्यवसायीको भनाइ छ। नेपालमा सिजनको बेला प्रतिदिन ५०–५५ केजीसम्म सुुनको कारोबार हुन्थ्यो। शाक्यले भने, ‘अफसिजनमा पनि प्रतिदिन २०–२५ किलो कारोबार हुन्थ्यो। तर, तीन दिनयता प्रतिदिन ५–७ केजी हाराहारीमा कारोबार भइरहेको छ।’

सुनको मूल्य वृद्धि हुने क्रम नरोकिएपछि सुन बजारमा ‘डेडलक’को अवस्था आउन सक्ने सम्भावना देखिएको उल्लेख गर्दै शाक्यले नेपाल राष्ट्र बैंकसँग समस्या समाधानका लागि छलफल गर्ने तयारी भइरहेको बताए।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला आठ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। त्यसैगरी, नेपाली मुद्राको तुलनामा अमेरिकी डलर बलियो हुँदा सुन लगायत आयातित वस्तुको मूल्यमा चाप परेको छ।

सुनको मूल्य अकासिँदा त्यसको मार विपन्न राष्ट्र बढी पर्ने गर्छन्। शाक्य भन्छन्, ‘यस्तो बेला जोसँग स्टक छ। उसैले कमाउने हो। हालसम्मको विवरण अनुसार सबभन्दा बढी सुन अमेरिकासँग नै छ।’ सुन महँगो हुँदा नेपाल जस्ता मुलुकमा उपभोक्ताले अतिरिक्त रकम खर्च गर्नुपर्ने हुन्छ। सर्वसाधारणको क्षमता भन्दा बढी रकम खर्चेर सुन खरिद गर्नुपर्ने भएपछि कारोबार गर्ने हैसियत रहँदैन। र, जसले गर्दा कारोबार ठप्प हुने गर्छ। ‘गरिब मुलुकका उपभोक्ता र व्यवसायीका लागि सुनको मूल्य वृद्धि हुनु भनेको घाटा मात्रै हो,’ उनले भने, ‘तर, यस्तो अवस्थामा हाम्रो मुलुकले गर्न सक्ने केही हुँदैन।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *