राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन : सरकार र मदरल्याण्ड ग्रुपबीच सीपमूलक तालिम प्रदानका लागि समझदारी
- फाल्गुन २७, २०८१
- 0

काठमाडौंमा जारी पाचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा सरकार र मदरल्याण्ड ग्रुप अफ कम्पनीबीच सीपमूलक तालिम प्रदानका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
विगत लामो समयदेखि विभिन्न तालिमहरु प्रदान गर्दै आइरहेको संस्था मदरल्याण्ड ग्रुपले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित सम्मेलनको अवसर पारेर मन्त्रालयसँग सम्झौता गरेको हो ।
सरकारसँगको यो सहकार्यले तालिम प्रदान गर्नका लागि थप हौसला मिलेको बताउँदै मदरल्याण्ड ग्रुपका अध्यक्ष टेकबहादुर पौडेलले आगामी दिनमा थप गुणस्तरिय तालिम प्रदानका लागि संस्था सधैं प्रतिवद्ध रहने जानकारी दिए ।
मदरल्याण्ड ग्रुप अन्तर्गत रहेको संस्था मदरल्याण्ड स्किल एकेडेमीले नेपाली युवाहरुलाई स्वदेश तथा विदेशमा आवश्यक कामका लागि विभिन्न तालिमहरु प्रदान गरिरहको छ ।
जसअन्तर्गत इराता रोप एक्सेस तालिम, स्काफोल्डिङ, वेल्डिङ, पेन्टर , इलेक्ट्रिसियन, प्लम्बर, मेसन, कार्पेन्टर, स्टिल फिक्सर, स्प्रे पेन्टर, मेसन, स्यान्ड ब्लाष्टिङ, हस्पिटालिटी तालिम, केयरगिभर, क्लिीनर, कुकिङ, बेकरी तालिम, बारिस्ता, हाउसकिपिङ लगायतका तालिमहरु प्रदान गर्दै आइरहेको छ ।
रोजगारी सिर्जना गराउने उद्देश्यले सीपमूलक तालिम प्रदान गर्न सम्मेलनमा मदरल्याण्ड ग्रुपसँगै विभिन्न क्षेत्रका १० निकायसँग समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
जसअन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र निर्माण व्यवसायी महासंघ, कम्युप्टर एसोसिएसन नेपाल, होटल संघ नेपाल, नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, नेपाल तयारी पोशाक उद्योग संघ, सुनचाँदी व्यवसायी महासंघ र इको इन्टरनेशनल फ्रेम प्रालिलगायतका संस्थाहरुसँग सम्झौता भएको हो ।