आन्तरिक रोजगार प्रवर्द्धन दशकको शुभारम्भ
प्रविधिको प्रयोग गरेर विकास र उद्यमशीलतामा केन्द्रित हुन्छौं : प्रधानमन्त्री
- फाल्गुन २६, २०८१
- 0

सरकारले सन् २०२५–३५ लाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको घोषणा गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक रोजगार प्रवद्र्धन दशकको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमको समेत शुभारम्भ भएको घोषणा गरिएको छ । उक्त कार्यक्रमको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकास तीव्रताका साथ गर्न आग्रह गरेका छन् । उनले प्रविधिको प्रयोग गरेर विकास र उद्यमशीलतामा केन्द्रित हुँदै अगाडि बढ्नुपर्ने धारणा राखेका हुन् ।
उनले भने, ‘रोजगारीका अवसरहरु सिर्जना गर्न हामीले उद्यमशिलतालाई जोड दिनुपर्छ । उद्यमशिलतार आधुनिकिकरण मार्फत मात्र रोजगारीको सम्भव छ । हामीले कृषिको आधुनिकिकरण गर्यौं भने त्यही बाट थप उद्यमशिलताको सिर्जना हुन्छ । त्यही बाट आम्दानी बढि हुन्छ । उद्यमशिलताको विकास गरौं, उद्यमशिलताको विकास तिव्रताका साथ गरौं, आधुनिकता तर्फको यात्रालाई तिव्रताका साथ अगाडि लगौं, उत्पादन, उत्पादोकत्व र विकासका लागि विज्ञान र प्रविधिको अधिकतम प्रयोग गरेर हाम्रो सम्पूर्ण जनशक्ति विकासमा केन्द्रित गरौं ।’
साथै उनले उद्यमशीलताको विकास बिना आन्तरिक रोजगारका लागि अवसर प्राप्त नहुने बताए । उनले रोजगार सिर्जना गर्न सरकारभन्दा नीजि क्षेत्र बढी क्रियाशिल रहने धारणा राखे । उनले समृद्ध नेपाल सुखी नेपाली विकासको भिजन बोकेर सरकार हिँडेको भन्दै राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरे ।
उनले भने , ‘आन्तरिक रोजगारी उद्यमशीलताको विकास बिना सम्भव छैन । सरकारी जागिर त सीमित छ । कहिले को रिटायर्ड हुन्छ र एउटा खाली हुन्छ । त्यो पनि लोकसेवाले परीक्षा हुनेगरी समानुकुल विज्ञापन आह्वान गर्छ । त्यसैले रोजगारीको सिर्जना गर्न उद्यमशीलताबाट मात्र सम्भव छ ।’
सोही अवसरमा ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले सम्मेलन सफलताको शुभकामना दिंदै रोजगारी अभिबृद्धिको वहस संसदमा पनि चल्नुपर्ने बताए ।
उनले भने,‘रोजगारी अभिबृद्धिको बहस संसदमा पनि चल्नु जरुरी छ । श्रम क्षेत्रलाई राज्यले प्राथमिकतामा राखे मात्र मुलुक समृद्ध हुनेछ,’ उनले अगाडि भने,‘राज्यले श्रमिकहरुको सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरण हुने नीति ल्याइ कार्यान्वयन गरेमात्र यस्ताखाले सम्मेलनले सार्थकता पाउनेछन् ।’