पीडित विद्यार्थी अनुहार छोपेर पत्रकार सम्मेलनमा, घट्नाको सत्यतथ्य छानविन गर्न माग
- फाल्गुन ९, २०८१
- 0

भारतको ओडिसास्थित कालिङ्गा ईन्सिटच्युट आफ ईन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत नेपाली विद्यार्थीहरुले आफूहरुमाथि अपराधिक क्रियाकलाप भएको बताएका छन् ।
उनीहरुले स्थानीय प्रहरी र सुरक्षा गार्डले अमानवीय व्यवहार गरेको समेत बताए । सुरक्षालाई मध्यनजर राख्दै अनुहार छोपेर शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेका उनीहरुले प्रकृति लम्सालको मृत्युबारे सत्यतथ्य छानविन हुनुपर्ने र पीडित विद्यार्थीहरुले न्याय पाउनुपर्ने माग राखे ।
लम्सालको शंकास्पद मृत्युपछिको उत्पन्न भएको परिस्थितिका क्रममा आफूहरुमाथि ज्यादति र अमानवीय व्यवहार भएको गुनासो गरेका हुन् ।
‘पुलिसले मात्रै नभएर त्यहाँको सेक्युरिटी गार्डहरुले पनि कुटपिट गर्न थाले । जति छिटो आफ्नो देश गइहाल भने । आफ्नो देशमा गएर काम गर, खेत खनजस्ता कुरा भनियो,’एक पीडित विद्यार्थीले भने ।
साथै प्रकृतिको मृत्यपछि त्यहाँका शंकास्पद सबैलाई नियन्त्रणमा नलिइएको र उनीहरुमाथि छानविन नभएको बताए ।
उक्त घटनाले नेपालीहरुको इज्जत गएको र आत्मसम्मानमा चोट पुगेको उनीहरुको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित विद्यार्थीहरुलाई भेटेर उनीहरुको पीडा सुनिदिनु पर्ने उनको माग छ ।
पत्रकार सम्मेलनमा भेला भएका अधिकांश विद्यार्थीले अनुहार छोपेर लम्सालको न्यायको माग गरेका थिए ।