वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आगामी असारमा सार्ने निर्णय, तीन व्यवसायी संस्थाको विरोध
- रोजगारमञ्च
- माघ २७, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Sangh-5-copy.jpg)
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही फागुन २ गते तय भएको ३१ औ बार्षिक साधारणसभा तथा निर्वाचन करिब ४ महिनापछि २०८२ असार १७ गते गर्नेगरी सार्ने निर्णय भएको छ ।
संघका महासचिव मेघनाथ भुर्तेलले संघको स्थापना दिवस पनि असार १७ मै पर्ने भएकोले तथा व्यवसायीहरुका मुद्धा, सय संख्या सम्वन्धी माग सम्वोधन, भवन सम्वन्धी विषय र व्यवसायीहरुको माग अनुसार निर्वाचन सार्ने निर्णय गरिएको बताए ।
उनले निर्वाचन नहुदासम्म यही कार्यसमितिले काम गर्ने बताउदै संघको निर्वाचन मिति सारिएको जानकारी जिल्ला प्रशासन कार्यालयमासमेत गराइसकेको बताए ।
तथापी साधारणसभा तथा निर्वाचनको निर्धारित मिति नजिकिदै गर्दा तथा चुनावी प्रक्रिया अघि बढिसकेर उम्मेदवारीसमेत घोषणा भइसकेको अवस्थामा एकाएक सार्ने निर्णय हुदा केही व्यवसायीहरुले यसमा विरोध जनाएका छन ।
निर्वाचन सार्ने निर्णयप्रति असहमति जनाउदै कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत निकट एकृकित वैदेशिक रोजगार व्यवसायी संगठनले संघमा ज्ञापनपत्र बुझाएका छन ।
निर्वाचन नजिकिदै गर्दा एकाएक सार्ने निर्णय हुनुमा उम्मेदवार छनोटमा देखिएको विवाद तथा संघ निर्वाचनको विषय उच्चस्तरीय राजनैतिक संयन्त्रणमा प्रवेश गरेको कारण भएको हुन सक्ने बताइएको छ ।
संघले फागुन २ गते निर्वाचन मिति तय गर्दे माघ २५ गतेसम्म सदस्यता नविकरणका लागि सुचना निकालेकोमा करिब ८ सय मेनपावरहरुले सदस्यता नविकरण गराएका थिए ।
निर्वाचनका लागि ३ वटा प्यानल घोषणा भैसकेको थियो जसमा लोकतान्त्रिक एसोसिएसन र गणतान्त्रिक एसोसिएसनले भुवनसिंह गुरुङको नेतृत्वमा प्यानल घोषणा गरेका थिए भने एसोसिएसनकै असन्तुष्ट पक्षले कुमुद खनालको नेतृत्वमा अर्को प्यानल खडा गरेको थियो । यस्तै प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले नरेश गेलालको नेतृत्वमा चुनावी मैदानमा होमिने घोषणा गरेको थियो ।