युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपाली उद्धारपछि स्वदेश फर्कर्दै, एनआरएनए र दूतावासको सहयोग
- रोजगारमञ्च
- माघ २४, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/9b57de7a-fa4b-45eb-9c39-cf8085bd5e61-e1738809970861.jpeg)
विगत ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार गरेर शुक्रवार स्वदेश आइपुग्दैछन् ।
नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीबाट तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पालाई नेपाली दूतावास जर्मनी र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा बुधबार उद्धार गरिएको हो।
जर्मनीका लागि नेपाली राजदूत शैल रुपाखेतीले युक्रेनी सेनाले ती दुई जनालाई युक्रेनको लागि श्रीलंकन अनरीकाउन्सिलर किरिल कार्नेटको रोहवरमा माल्दोवा बोर्डरमा लगेर बुधबार छोडिदिएको जानकारी दिए ।
उद्धार गरिएका मध्ये फुर्वा शेर्पा नेपाली दूतावास वर्लिन र गैरआवासीय नेपाली संघको सहयोगमा माल्दोवाबाट बिहीबार दिउँसो १५.२० बजेको टर्किस एयरलाइन्समार्फत नेपाल फर्कदैछन् ।
उनले भने, ‘अन्जानमा हामी यो अप्ठ्यारो अवस्थामा पुगेका थियौं। बाँचेर आउने आशा थिएन, तर नेपाल सरकार, एनआरएनए लगायत निकायको सहयोगले अब बाँचेर घर जान लागेका छौं। हामी अब विदेश जाँदैनौं, जे जस्तो छ नेपालमै माटो खनेर खाने हो। हामीलाई अप्ठ्यारो परेको बेला सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दछौं।’
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले दलालको प्रलोभनमा परेर युक्रेनमा पुगेर जेल जीवन बिताइ रहेका नेपालीहरूको उद्धार गरिएको प्रति खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ‘गैरआवासीय नेपाली संघले पहिलेदेखि नै विदेशमा अलपत्र परेका नेपालीलाई सहयोग गर्दै आएको छ र भविष्यमा पनि यस सहयोगलाई निरन्तरता दिनेछ।’ उनले विदेश जानु अघि गन्तव्य मुलुकको अवस्था बुझ्न र गैरकानुनी रूपमा विदेश नजान समेत सुझाव दिएका छन् ।
उनले फुर्वा र शेर साम्बोको उद्धारका लागि सक्रिय नेपाली दूतावास वर्लिन लगायतलाई धन्यवाद व्यक्त गरे। उनीहरूको उद्धारका लागि हवाई टिकटको व्यवस्था गैरआवासीय नेपाली संघले गरेको हो ।
यसअघि, नेपाली दूतावास वर्लिनका नियोग उपप्रमुख शागर फुँयाल, आईएमओ युक्रेन, युक्रेनी बोर्डर प्रहरी, अध्यागमन विभाग र युक्रेनका लागि श्रीलंकन अनरीकाउन्सिलर किरिल कार्नेटको संयुक्त समन्वयमा उनीहरूको उद्धारका लागि प्रयास गरिएको थियो ।
नेपालमा दुई छोरा र श्रीमतीलाई छाडेर युक्रेन पुगेका शेर साम्बो शेर्पाले भने, ‘नेपालमा जति कमाए पनि बचत भएन, त्यसैले विदेश जानुपर्ने निर्णय गरे, तर मलाई गलत देशमा पुर्याइयो। मेरो नेपालमा कपडा पसल, गार्मेट फ्याक्ट्री र होटलको व्यापार थियो, तर जति काम गरे पनि केही बचत भएन। परिवारको सल्लाहमा देश छोडेर हिँडेँ, निकै दुःख पाइयो। अब परिवारसँग बस्ने र नेपालमै केही गर्ने विचारमा छु।’