रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएकै दिन चितवनका सरकारी वकिलको सरुवा
- माघ २३, २०८१
- 0
सहारा सहकारीको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भए लगत्तै चितवनका जिल्ला न्यायाधीवक्ताको सरुवा भएको छ ।
चितवन जिल्लाका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा भएको हो । उनलाई महान्याधिवक्ताको कार्यालय काठमाडौंमा तानिएको छ ।
उनको स्थानमा उच्च सरकारी वकिलको कार्यालय बुटवलका सरकारी वकिल रवि न्यौपानेलाई पठाइएको छ ।
हिजो लामिछानेसहित २० जनालाई ठगी र १२ जनालाई संगठित अपराधमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । उक्त मुद्दामा प्रहरी प्रतिवेदनले लामिछानेलाई संगठित अपराध र ठगी दुवै मुद्दा लगाउन सुझाव दिएको थियो ।
तर, जिल्ला न्यायाधीवक्ता लुइँटेलले लामिछाने एउटा मात्रै संस्थामा आबद्ध देखिएकोले कानुनले व्याख्या गरेको संगठित अपराधको परिभाषाभित्र उनको अपराध नदेखिने निक्र्यौल गरी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको थियो ।
यद्यपि लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कमा आबद्ध तीन जना भने गोर्खा मिडिया बाहेक अन्य संस्थामा पनि आबद्ध रहेको देखिएकोले उनीहरूलाई संगठित अपराधमा मुद्दा दर्ता गरिएको थियो ।
महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार उनले गरेको अभियोजनमा केही प्रश्न उठेपछि जिम्मेवारी हेरफेर भएको हो ।