पछाडि परेका जातजातिका क्षेत्रमा काम गर्न आयोगलाई सभामुखको सुझाव
- माघ २१, २०८१
- 0
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जातजातिबीच हुने भिन्नताहरुका विषयहरु आदिवासी जनजाति आयोगले सोही अनुरुप काम गर्न सुझाव दिएका छन् ।
सोमबार आदिवासी जनजाति आयोगको चौंथौ वार्षिकोत्सव समारोहमा बोल्दै उनले जातजातिका विषयमा पछाडि परेका कुराहरुलाई नीति निर्माण गरी अगाडि लैजान आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘मलाई लाग्छ हिजो जातिको महत्व नबुझ्दाखेरी आफ्नो जातिको पहिचानलाई ल्याउन नसेकेको र नचाहेको अवस्था थियो । अहिले त्यसको महत्व बढेको छ । अहिले प्रतिस्पर्धा बढेको छ । कुन जाति कहाँ बसेको छ त्यसमा ध्यान गएको देखिदैन् । तर जातजतिका विशेषताहरुलाई अगाडि लाने काम आदिवासी जनजाति आयोगको पनि हो । पछाडि परेकाहरुलाई अगाडि ल्याउनका लागि नीति, निर्माण गर्ने, सोही आधारमा सरकारलाई कार्यक्रम बनाउनका लागि सुझाव दिने, बनेका कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि सबैले अगाडि बढ्न जरुरी छ ।’
साथै सबै क्षेत्रहरुमा सबै जातिहरुलाई समान अवसर प्रदान गर्न आवश्यक रहेको बताए । उनले सबै जातजातिका संस्कृतिहरुले समाज समृद्ध बनाउनमा मद्दत पुर्याउने उल्लेख गर्दै हरेक क्षेत्रमा नेपाललाई अगाडि बढाउनमा आदिवासी जनजाति आयोगको समेत विशेष भूमिका रहने बताए ।
जातिय संस्कृति र परम्परालाई व्यवस्थित गर्न जोड
यसैगरी कानून न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले आदिवासी जनजाति आयोगसँग मुलुकको सफलता जोडिएको बताएकी छन् । उनले नेपाल एउटा विभिन्न जातजातिहरुको, भाषभाषीहरुको, संस्कृति र परम्पराहरुको मुलुक भएकाले यो सबैलाई व्यवस्थित गर्नुपर्ने बताएकी हुन् ।
उनले भनिन्,‘आदिवासी जनजाति आयोगसँग नेपालको पनि एउटा सफलता जोडिएको छ । नेपाल एउटा विभिन्न जातजातिहरुका, भाषाभाषीहरुको, संस्कृति र परम्पराहरुको मुलुक पनि हो । यसलाई हामीले व्यवस्थित गर्नसक्यौं भने जातजातिहरुको तथा भाषाभाषीहरुको, संस्कार संस्कृतिहरुलाई मात्रै नेपालले व्यवस्थित गर्ने हो भनेपनि पर्यटनको महत्वपूर्ण गन्तव्य नेपाल बन्नसक्छ ।’