आज वसन्त पञ्चमी : देवी सरस्वतीको पूजा गरिँदै
- माघ २१, २०८१
- 0
प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका दिन वसन्त पञ्चमी अर्थात् ‘श्रीपञ्चमी’ पर्व मनाइन्छ । यस दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरि वसन्त श्रवण गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार आज सोमबार बिहान ७:५५ बजे काठमाडौंंको हनुमानढोकास्थित नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । यस अवसरमा वसन्त श्रवण गर्न राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने हनुमानढोका दरबारले जनाएको छ ।
यस्तै आज वसन्त श्रवण गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने बताइएको छ ।
श्रीपञ्चमी पर्वमा आज देवी सरस्वतीको देशभर पूजा अर्चना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीको भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता थुप्रै नाम छन् ।
देवी सरस्वतीलाई विद्या र सिर्जनाकी देवीको रुप मानिने भएकाले आज विशेष गरी शिक्षक, विद्यार्थी, पत्रकार, साहित्यकार, कलाकारहरुले आआफ्ना कला–साधनाका वस्तुहरु कलम, कापी, कुची र वाद्ययन्त्रलाई देवी सरस्वतीको रुपमा पूजा गर्दर्छन् ।
आजबाट वसन्त ऋतुको शुरुवात हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ भनिएको हो । आजको दिनमा सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ ।
आज विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन साना नानीहरुलाई शिक्षारम्भ गराइन्छ भने नाक–कान छेड्नका लागि पनि आजको दिन शुभ मानिन्छ ।