संघको निर्वाचनको संघारमा एकता समाजको निर्वाचन, अध्यक्षमा पुनः क्षेत्री निर्वाचित (फोटो फिचरसहित)
- रोजगारमञ्च
- माघ २०, २०८१
- 0
नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समाजको अध्यक्षमा पुनः हरिबहादुर पाण्डे क्षेत्री निर्वाचित भएका छन् । समाजको शुक्रबार सम्पन्न सातौं साधारणसभाले सर्वसहमतिको आधारमा पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
मेनपावर व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी फागुन २ गते निर्वाचन हुने माहोल तातिरहँदा एकता समाजले सर्वसहमतिमा नेतृत्व चयन गरेर गतिलो उदाहरण प्रस्तुत गरेको छ । एकता समाजले समर्थन गरेको उम्मेदवार बलिो हुने आंकलन मेनपावर व्यवसायीहरुमा रहेको छ ।
समाजको उपाध्यक्षमा तारानाथ अर्याल, खड्कबहादुर केसी, हरिश्चन्द्र कुँवर र सुशील केसी निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा मधुकर रिजाल, सचिवमा लक्ष्मण पौडेल र नरेश पुन निर्वाचित भएका छन् । समाजको कोषाध्यक्षमा यामबहादुर बीसी, सहकोषाध्यक्षमा शालिकराम गौतम निर्वाचित भएका छन् ।
यसैगरी, समाजको कार्यसमिति सदस्यहरूमा मोहम्मद जवारद्दिन मियाँ, विक्रम श्रेष्ठ, राजकाजी भलोन, भिष्म शिवाकोटी, दिनेशबहादुर पौडेल क्षेत्री निर्वाचित भएका छन् । समाजको विधानअनुसार अब नवनिर्वाचित अध्यक्षले कार्यसमितिमा थप दुई जना सदस्य मनोनयन गरी कुल कार्यसमितको संख्या १७ जना पु¥याउनेछन् ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिका संयोजक नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले पद तथा गोपनीयताको शपथ खुवाएका थिए । नवनिर्वाचित अध्यक्ष पाण्डेले समाजले स्थापनाकालदेखि गर्दै आएको व्यवसायीको हकहितको सुरक्षा तथा सामाजिक योगदानको कामलाई आगामी दिनमा पनि थप सशक्त बनाउँदै अगाडि बढने बताए ।
नवनिर्वाचित कार्यकारिणी उपाध्यक्ष तारानाथ अर्यालले व्यवसायीले साधारणसभामार्फत निर्विरोध निर्वाचित गरेर आफूलाई दिएको जिम्मेवारीको मर्मअनुसार काम गर्ने प्रतिबद्धता जनाए । उनले आफू सधैं व्यावसायिक हकहितमा काम गर्ने बताए । यसैगरी, समाजले साधारणसभाको अवसरमा समाज र वैदेशिक रोजगारीको क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै समाजका सल्लाहकार तथा भिजन एन्ड भ्यालु ओभरसिज प्रालिका सञ्चालक पदमराज पौडेल, लोकतान्त्रिक एसोसिएसनका पूर्वअध्यक्ष एवं नोकरी नेपाल प्रालिका सञ्चालक नरेन्द्रप्रसाद ढकाल, कान्तिपुर म्यानपावर प्रालिका सञ्चालक तथा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
यसैगरी, असहाय, अनाथ बालबालिकाको शिक्षादीक्षामा उच्च योगदानका लागि हाम्रो बाल संरक्षण धरोहर नेपालकी सञ्चालक विनिता अर्याललाई २५ हजार नगदसहित सम्मान गरेको थियो । सो कार्यक्रममा संघीय संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति अब्दुल खान, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, संघको पूर्वअध्यक्षद्वय रोहन गुरुङ र विमल ढकालले एकता समाजको योगदानको चर्चा गर्दै शुभकामना मन्तब्य राखेका थिए ।
फोटो : पर्वत विक