एशोसिएशनभित्र उम्मेदवार छनौटमा चरम असन्तुष्टी, दुई तिहाईले निणर्य गरेको अध्यक्ष थापाको दावी
- रोजगारमञ्च
- माघ १८, २०८१
- 0
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यसमितिको निर्वाचनका लागि उम्मेदवार छनौट धमाधम भइरहेको छ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले बिहीबार राति अध्यक्षसहितका उम्मेदवार टुङ्याएर सार्वजनिक गरेपछि एशोसिएशनभित्रै असन्तुष्टी देखिएको छ ।
एशोसिएशनबाट ७ जनाले अध्यक्ष पदका लागि दावेदारी गरेपछि छनौट गर्न सकस परेको थियो । एशोसिएशनले सातै जना आकांक्षीसँग उनीहरुको उम्मेदवारीको कारण, प्रतिवद्धता तथा कार्ययोजनासहित राय लिएको र सोही आधारमा अध्यक्ष पदसहित अन्य उम्मेद्धवारको टुङगो लगाएको जनाएको छ ।
एशोसिएसनले अध्यक्ष पदका लागि संघका पूर्वद्वितीय उपाध्यक्ष भुवनसिहं गुरुङलाई मैदानमा पठाउने निर्णय गरेको छ । त्यसैगरी प्रथम उपाध्यक्षमा नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र महासचिवमा महेशकुमार बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एशोसिएशनले सदस्यहरूमा दिपक कुमार राय, विद्यालक्ष्मी बज्रचार्य, देवीप्रसाद गिरी, विश्वास तिमिल्सिना र सुवर्ण लामा गरी ९ जनाको उम्मेदवारी टुंगो लगाएको छ । बिहीबार राति अबेर उक्त निर्णय गरिएकोे एशोसिएसनका अध्यक्ष दीपक थापाले बताए । तृतीय उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ सदस्य केही दिनमा टुंगो लाग्ने बताइएको छ ।
एशोसिएसनभित्र अध्यक्ष पदका लागि संघका वर्तमान महासचिव मेघनाथ भुर्तेल, चिरञ्जीवी बस्याल, प्रज्ञान न्यौपाने, सुजितकुमार श्रेष्ठ, कुमुद खनाल र किशोर केसी गरी ७ जना आकांक्षी थिए ।
प्रथम उपाध्यक्षमा ढकालसहित सेवन्तराज न्यौपाने, अमरप्रकाश तिवारी, द्वितीय उपाध्यक्षका लागि खोखालीसहित महम्मद जवारदिन मियाँ र देवीप्रसाद काफ्ले, शिवकुमार कार्की र हर्कबहादुर लिम्बूको दाबी परेको थियो ।
महासचिवका लागि बस्नेतसहित लक्ष्मण पौडेल, कर्णराज कटुवाल र सोमबहादुर तामाङको दाबी परेको थियोे ।
एशोसिएशनले उम्मेदवार छनौट गर्दा आकांक्षीलाई नराखी एकलौटीढंगबाट गरेको भन्दै असन्तुष्टीहरु बाहिर आउन थालेका छन् । अध्यक्ष पदका आकांक्षी सुजित श्रेष्ठले सर्वसम्मत निर्णयको पहल नगरी हतारमा रातारात एकलौटी निर्णय भएको भन्दै असन्तुष्टी जनाएका छन् । उनले भने– ‘संस्थाले निर्णय गर्दा आकांक्षीहरुलाई राखेर गर्नु पथ्र्यो तर यसो नगरी हतारमा निर्णय भयो, अग्रजहरुसँग कुनै सल्लाहसुझाव नलिइ गरिएको निर्णयमाथि एकपटक फेरि छलफल गर्न आवश्यक छ ।’
एशोसिएशनले सबै अध्यक्षका उम्मेदवारको योजना तथा राय लिएको भएता पनि अहिले छनौट भएकाहरु नै उम्मेदवार बनाउनु पर्ने कारण खुलाउन नसककेको उनीहरुको भनाई छ ।
संघका बर्तमान महासचिव तथा अध्यक्ष पदका आकांक्षी मेघनाथ भूर्तेलले पनि एशोसिएशनको निर्णयलाई स्वीकार्नु परेता पनि अग्रज र पार्टीले एक पटक छलफल चलाउन आवश्यक भएको रोजगार मञ्चलाई बताएका छन् । ‘हामी संघमा बसेर काम गरिरहेकालाई बाहिर राख्न ठिक होला र ?’ उनले एशोसिएशनलाई उल्टै प्रश्न गरेका छन् ।
यता एशोसिएशनका अध्यक्ष दिपक थापाले सबै आकांक्षीहरुको कार्य योजना तथा राय लिएपछि एशोसिएशनको दुईतिहाईले उम्मेदवार छनौट गरेको जानकारी दिए । उनले भने–‘हामीले सबैको योजना माग्यौ, राय लियौ अनि कार्यसमितिको २० जनाको सहमति अर्थात दुई तिहाईको निर्णयबाट उम्मेदवार छनौट गरेका हौं ।’
उनले केही असन्तुष्टी भए एशोसिएशनमा राख्न आग्रह गर्दै संस्थाले गरेको निर्णयलाई स्वीकारेर आफ्ना उम्मेदवारलाई संघमा जिताउनका लागि सबैलाई आग्रह गरेका छन् । उनी भन्छन्–‘मैले व्यक्तिले गरेको निर्णय होइन, संस्थाले गरेको निर्णयलाई स्वीकार्नुको विकल्प छैन ।’
अध्यक्ष पदका लागि ७ जना मध्ये भुवन गुरुङ नै छनौट गर्नुको कारणका बारेमा अध्यक्ष थापा भन्छन्– ‘संघमा बसेर काम गरेको अनुभव, सबै व्यवसायीको लागि सजिलो व्यक्ति र सबैको मन जित्न सफल व्यक्तित्व भएका कारण गुरुङलाई जिताउन सकिन्छ भनेर दुईतिहाईले छनौट गरेका हौं ।’
एशोसिएशनले अध्यक्ष पदका लागि उम्मेदवार चयन गरेका भुवनसिंह गुरुङ आफु चुनावी मैदानमा उत्रिसकेको बताउँछन् । ‘संस्थाको निर्णयलाई स्वीकारेर अगाडि बढिसकेको छु, अव हामी सबै मिलेर चुनाव जित्नतिर लागौं, सबैको मुद्धा उठाएर हिडने र यसलाई पुरा गर्ने जिम्मा म लिन्छु ।’
यता उम्मेदवार छनौटमा असन्तुष्टी जनाउँनेहरुले माउ पार्टी नेपाली काँग्रेसलाई ध्यानाकर्षण गराउने र सामूहिक असन्तुष्टी पत्र सार्वजनिक गर्ने तयारीमा जुटेका छन् ।