समाजवादीबाट हंशराज वाग्लेलाई माला लगाउँदै देउवाले फर्काए काँग्रेसमा
- रोजगारमञ्च
- माघ १०, २०८१
- 0
व्यवसायी तथा नेकपा (एकीकृत समाजवादी) ओखलढुंगा जिल्लाका अध्यक्ष हंशराज वाग्ले नेपाली कांग्रेसमा फर्किएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले विहीबार बुढानीलकण्ठमा माला लगाएर वाग्लेलाई पार्टीमा स्वागत गरेका छन् । वाग्ले यसअघि समाजवादीमा जानु पहिले नेपाली कांग्रेसकै जिल्ला सदस्य थिए ।
वाग्लेले एकीकृत समाजवादी पार्टी त्याग्दै पुरानै घर नेपाली कांग्रेसमै फर्किएको जनाएका छन् । समाजवादीले उनलाई ओखलढुङ्गाको जिल्ला अध्यक्ष तथा कोसी प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिएको थियो ।
उनले भनेका छन्–‘ आजवाट औपचारिकरुपमा आफ्नै पुरानो घर नेपाली कांग्रेसमा रहने निर्णय गरियो, नेपाली कांग्रेसका केन्द्रदेखि जिल्लालगायत स्थानीयतह सम्मका नेताकार्यकर्ताहरुलाई हार्दिक आभार व्यक्त गर्दछु ।’
प्रदेश १ खेलकुद बोर्डको सदस्यसचिवको जिम्मेवारी पुरा गरिसकेका वाग्ले पूर्व भलिबल खेलाडी समेत हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका वाग्ले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनका पुर्व सल्लाहकार भइसकेका छन् ।
वाग्लेलाई काँग्रेसमा फर्काएर स्वागत गर्नका लागि बुढानिलकण्ठमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा, सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ, मेनपावर व्यवसायीहरु किरण किशोर घिमिरे, नवराज केसी, चिरञ्जीवि बस्याल, देवि काफ्ले, इश्वर सापकोटालगायतको उपस्थिति रहेका थियो ।