एसिसी यू-१९ महिला एसिया कप : नेपाललाई पराजित गर्दै बंगलादेश फाइनलमा
- पुस ५, २०८१
- 0
एसिसी यू-१९ एसिया कपको दोस्रो सुपर फोरको खेलमा नेपाल पराजित भएको छ।
शुक्रबार फाइनल प्रवेशका लागि बंगलादेशसँग खेलेको नेपाल ९ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले १ विकेटमात्रै गुमाएर ९.५ ओभरमा पूरा गर्यो।
बंगलादेशकी ओपनर फहोमिदा चोयाले २६ रन बनाइन्। अर्का ओपरन मोसम्मत इभाले १८ रन बनाएकी थिइन्। यस्तै सुमैया अख्तर सुबोर्नाले १० रनको योगदान दिइन्।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ५४ रन बनाएको थियो।
नेपालका लागि साबित्री धामीले ११ रन बनाउनुबाहेक अरू सबै ब्याटरहरूले १० भन्दा कम रन बनाए।
बंगलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले एक-एक विकेट लिए।
यो सँगै पहिलो पटक आयोजना भएको एसिसी महिला यू-१९ क्रिकेटमा नेपाल तेस्रो भएको छ।
समूह चरणमा पाकिस्तानलाई पराजित गरी नेपाल शीर्ष चारमा पुगेको थियो। शीर्ष चारको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले अंक बाँडेको थियो।
विजयी भएको बंगलादेशले अब भारतसँग फाइनल खेल्नेछ।