नेपाल र यूएईबीच श्रम समझदारीमा भयो हस्ताक्षर, सम्पूर्ण लागत खर्च रोजगारदाताले नै व्यहोर्ने
- रोजगारमञ्च
- जेष्ठ ३१, २०७६
- 0
नेपाल र खाडी मुलुक यूएईबीच कामदार आपूर्ति गर्दा लाग्ने सम्पूर्ण लागत खर्च कामदारदाताले नै बेर्होने गरी श्रम समझदारीमा हस्ताक्षर भएको छ । यूएईसँग यसअघि सन् २००७ मै श्रम सहमति भएपनि त्यसलाई समयानूकुल पुनरावलोकन गर्दै अहिले पुन : नयाँ समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न एक बिशेष कार्यक्रमकाबीच नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले सो समझदारीपत्रमा हस्ताक्षर गरेका छन ।
गत अप्रिल २४ र २५ तारिखका दिन काठमाडौंमा बसेको दुई देशका प्राविधिक कमिटीको बैठकले श्रम समझदारीको मस्यौदाको अन्तिम रुप दिएका थिए ।
अहिले भएको समझदारी अनुसार कामदारको छनोट तथा भर्नामा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने, पारिश्रामिक तथा सेवासुविधामा विभेद गर्न नपाइने, रोजगारदाताको कारण वेरोजगार हुनुपर्ने अवस्था आए वैकल्पिक रोजगारीको खोजी गर्ने सकिने व्यवस्था गरिएको छ ।
समझदारीपत्रमा व्यवसायजन्य दुर्घटना वा रोग लागेमा उपचार खर्च रोजगारदाताले व्यहोर्नुपर्ने, पाँच वर्षसम्म सेवा अवधिका लागि हरेक वर्षको सेवा पावत २१ दिनका दरले र त्यसभन्दा बढी अवधिका लागि वार्षिक ३० दिनका दरले उपदान पाउने व्यवस्था, महिला कामदारका लागि श्रमिक कल्याण र सुरक्षा, राहदानी लगायत व्यक्तिगत परिचय सम्बन्धि कागजात श्रमिककै साथमा रहन पाउने व्यवस्था, कामदारको मृत्यु हुनपुगेमा छिटो शव नेपालमा ल्याउन तथा यसका लागि लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्नु पर्ने सुनिश्चित गरिएको छ । कामदारले पाउने सेवा सुविधा तत्कालै भुक्तानी गर्नुपर्ने र बिलम्व गर्न नपाईने व्यवस्था समझदारीमै छ ।
कानुनी झमेला आइपरेमा निशुल्क कानूनी उपचारको व्यवस्था तथा त्यस्तो अवस्थामा कामदारले कानून बमोजिम अस्थायी श्रम स्वीकृतिका लागि आवेदन गर्न सक्ने व्यवस्था समझदारीले गरेको छ ।
समझदारीपत्रको प्रभावकारी कार्यान्वयन र कामदारको भर्ना, रोजगारी र फिर्ता सम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्ने लगायतका विषय दुई देशका प्रतिनिधिहरु संलग्न संयुक्त वैठकबाट तय गरिने तय भएको छ ।