पूर्वमन्त्री दीपक मनाङे डिल्लीबजार कारागार चलान
- कार्तिक २७, २०८१
- 0
ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका (दीपक मनाङे) राजीब गुरूङ कारागार चलान भएका छन्।
काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको सूचना अधिकारी मेलिश बाँस्कोटाले जानकारी दिए।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार बिहान सितापाइलास्थित एक घरबाट पक्राउ गरेको थियो। सिआइबीले उनलाई पक्राउ गरी अदालतका फैसला कार्यान्वयन अधिकारीसमक्ष पेश गरेसँगै उनी जेल चलान भएका हुन्।
कात्तिक २० गते सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य राजिब गुरूङ ‘दीपक मनाङे’ लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।
२०६१ वैशाख ३१ गते ‘चक्रे मिलन’ (मिलन गुरूङ) को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा उनलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको हो।
न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको ज्यानमुद्दाको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चबाट पनि दोषी ठहर भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजायँ सुनाएको थियो । उनले २ वर्ष आठ महिना कैद सजायँ भोगिसकेकाले बाँकी समय कारागारमा बिताउनुपर्ने छ ।