हवाई टिकटको कृतिम अभाव : परराष्ट्र, श्रम र पर्यटन मन्त्री समक्ष रोजगार व्यवसायीको ध्यानाकर्षण
- रोजगारमञ्च
- कार्तिक २३, २०८१
- 0
वैदेशिक रोजगार व्यवसायीहरुले पछिल्लो समयमा हवाई टिकटको कृतिम अभाव तथा चर्को मुल्य बृद्धि भएपछि वैदेशिक रोजगारमा जाने कामदारलाई प्रत्यक्ष मार परेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
परराष्ट्र मन्त्री आरजु देउवा, संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री बद्री पाण्डे र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई एकै ठाउँमा राखेर मेनपावर व्यवसायीहरुले ध्यानाकर्षण गराएका हुन् ।
परराष्ट्र मन्त्रालयमा शुक्रवार तीनै जना मन्त्री समक्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा गएका व्यवसायीहरुले अनावश्यक कृतिम अभाव देखाएर एयरलाइन्स र ट्राभल एजेन्सीले लुट धन्दा मच्चाइरहेको बताउँदै सरकारले कडाई गर्न र कालोबजारी गर्नेलाई कारवाही गर्न आग्रह गरेका छन् ।
व्यवसायीहरुले मन्त्रालयमा विगतमा आफ्ना माग राख्दा एउटा मन्त्रालयले अर्को मन्त्रालयलाई देखाउने गरेकोमा शुक्रवार भने तीनै मन्त्रीलाई एकै ठाउँमा राखेर आफ्नो माग राखेका छन् ।
त्रिभुवन विमानस्थल कार्यालयले धावनमार्ग विस्तारका लागि विमानस्थल सञ्चालन समय घटाएपछि विदेशी वायुसेवा कम्पनीले काठमाडौं उडानमा कटौती गरेका कारण त्यसको प्रत्यक्ष असर हवाई भाडामा परेको जनाएता पनि एयरलाइन्सले मनोमानी कृतिम अभाव देखाएको व्यवसायीको भनाई छ ।
धावनमार्ग निर्माणका लागि त्रिभुवन विमानस्थल शुक्रबारदेखि चैत १८ सम्म राति १० पछि बिहान ८ बजेसम्म दैनिक १० घण्टा बन्द रहने जनाएको छ । अन्तर्राष्ट्रिय उडानमा कटौती हुँदा दिल्ली, दुबई, दोहा, साउदी, कुवेत, क्वालालम्पुरलगायतका गन्तव्यको हवाई भाडा अत्यधिक बढेको छ । त्यसको प्रत्यक्ष मारमा नेपाली श्रमिक परेको हुँदा व्यवसायीले सरकारको ध्यानाकर्षण गराउँदै तत्काल सहज बनाउन आग्रह गरेको जानकारी संघका महासचिव मेघनाथ भुर्तेलले रोजगार मञ्चलाई दिए ।
व्यवसायीले मन्त्रीहरु समक्ष युरोपका मुलुकबाट प्राप्त मागपत्रहरु प्रमाणीकरण नभएर रोजगारका अवसर गुमिरहेको, मलेसियामा नेपाली दुतावासले मागपत्र प्रमाणीकरण कार्य खुल्ला नगरेको, मन्त्रालयबाट नै अनलाइन मागपत्र प्रमाणिकरण गराउनका आग्रह गर्दै व्यवसायीका समसामयिक विषयहरु राखेको महासचिव भुर्तेलको भनाई छ ।
परराष्ट्र मन्त्री देउवाले कृतिम हवाई भाडा बृद्धिसम्बन्धी अध्ययन गरिने र तीनै मन्त्रालयको समन्वयकारी भुमिकामा वैदेशिक रोजगारमा जाने कामदारको पक्षमा काम गरिने प्रतिवद्धता जनाएकी छिन् ।
त्यसैगरी वैकल्पिकरुपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरेर भए पनि हवाई भाडा सहज बनाइने प्रतिवद्धता मन्त्रीहरुबाट आएको छलफलमा सहभागी भूर्तेलले जानकारी दिए ।
सोही अवसरमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको तर्फबाट परराष्ट्र मन्त्री देउवा, पर्यटन मन्त्री पाण्डे र श्रम मन्त्री भण्डारीलाई व्यवसायी तथा कामदारले भोग्नु परेका समस्याका वारेमा छुट्टै ध्यानाकर्षण पत्र बुझाइएको छ ।