डेडिकेटेड र ट्रङ्क लाइनको महशुल उठाउन आयोगको निर्देशन
- कार्तिक १५, २०८१
- 0
विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी महशुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
आयोगका सचिव मनदेवी श्रेष्ठले प्राधिकरणलाई पत्राचार गर्नुहुँदै विसं २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता महशुल असुल गर्न निर्देशन दिएका हुन् ।
आयोगले प्राधिकरणबाटै उपयुक्त अनुपातमा रकम तोकिदिने र यसअघि महशुल नबुझाएको कारणबाट लाइन काटेको भए पनि ग्राहकले त्यस्तो रकम बुझाएपछि तत्कालै विद्युत् लाइन जोडिदिनसमेत निर्देश गरेको छ ।
विद्युत् महशुलको परिणाम वा अन्य कुनै पक्षउपर पछि आधिकारिक निकायबाट जाँचबुझ भई रकम फरक परेको पुष्टि भएमा उक्त रकम असुल भइसके पनि त्यसपछिका बिलमा समायोजन गर्दै जाने आयोगले उल्लेख गरेको छ ।
विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ३७ बमोजिम आयोगले निर्देशन दिएको हो ।
प्राधिकरणले महशुल नबुझाएको भन्दै यही कात्तिक ८ गते ३९ वटा उद्योग प्रतिष्ठानको लाइन काटेको थियो । तीमध्ये १४ वटा उद्योगले किस्ताबन्दीमा महशुल बुझाउन निवेदन दिएका छन् । केही बक्यौता रकमसहित निवेदन दिएका उद्योग प्रतिष्ठानको लाइन तत्कालै प्राधिकरणले जोडिदिएको छ ।