तिहार मानिस र पशुपन्छीबीचको सम्बन्ध पनि बढाउने पर्व : प्रधानमन्त्री ओली
- कार्तिक १५, २०८१
- 0
प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार दाजुभाइ दिदीबहिनीबीचको सम्बन्ध बढाउने पर्व मात्र नभएर मानिस र पशुपन्छीबीचको सम्बन्ध पनि बढाउने पर्व भएको बताएका छन् ।
दीपावलीको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस पर्वले पशुपन्छी र मानिसको सम्बन्धलाई पनि बढाउने उल्लेख गरेका छन् । तिहारमा काग, कुकुर, गाई र गोरुको पूजा गरेपछि भाइटीका लगाइने भएकाले प्रधानमन्त्रीले यो पर्वलाई मानिस र पशुपन्छीको पनि सम्बन्ध बढाउने पर्व भनी उल्लेख गरेका हुन् ।
प्रधानमन्त्रीले तिहारलाई दीपको उज्यालो र फूलको सुगन्धको पर्वको रूपमा टिप्पणी गरेका छन् । ‘यहाँ दीपको उज्यालो र फूलको सुगन्ध छ’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
प्रधानमन्त्रीले शुभकामना दिँदै लेखेका छन्- ‘यसले पशुपन्छी र मानिसको सम्बन्ध, अनि दाजुभाइ दिदीबहिनीको स्नेह सम्झाउँछ, आज तिहारको लक्ष्मीपूजा, सबैको घर आँगन उज्यालो होस्, सबैको परिवारमा सुख शान्ति छाओस्, शुभकामना ।