मेनपावरबाटै कामदार पठाउने गरी मौरिसससँग भयो श्रम समझदारी
- जेष्ठ २९, २०७६
- 0
मेनपावर कम्पनीबाटै नेपाली कामदार पठाउने गरी अफ्रिकी मुलुक मौरिसससँग श्रमिक आदानप्रदान गर्नेसम्बन्धी समझदारी भएको छ ।समझदारीमा मौरिससका रोजगारदाता कम्पनीले सिधै नेपालका म्यानपावर कम्पनीसमक्ष कामदार माग गर्ने व्यवस्था गरिएको छ ।
स्वीट्जरल्याण्डको जेनेभामा आयोजित एक कार्यक्रमकाबीच नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मौरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालीममन्त्री सुदेश एस क्यालीचर्नले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन ।
उक्त समझदारी अनुसार कामदारको सम्पूर्ण शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने र काम गरिरहेको कम्पनी समस्यामा परे वैकल्पिक रोजगारीको खोजी गर्न सक्ने पनि प्रावधान राखिएको छ भने नेपाली श्रमिकलाई मौरिससका नागरिक सरह नै तलब सुविधा उपलब्ध गराउनुपर्ने समझदारीमा उल्लेख गरिएको छ ।
कामदारकको मृत्यु भएको अवस्थामा शव छिटो नेपालमा ल्याउन वा परिवारको सहमतिमा मरिससमै दाहसंस्कार गर्दा लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्ने, न्यायिक उपचारका लागि वकिल राख्ने र आवश्यक अनुवाद गर्न लाग्ने लागतसहित निःशुल्क कानूनी उपचारको हक स्थापित गरिएको छ । साथै विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा अस्थायी रोजगारीका लागि भिसा आवेदन गर्ने पाउने विषयलाई समझदारीमा समेटिएको छ ।
समझादारीसँगै राहदानीलगायत व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिककै साथमा रहन पाउने व्यवस्थाको सुनिश्चितता भएको छ । समझदारीले नेपाली कामदार मसिसको विमानस्थल पुगेको छ घण्टाभित्रै रोजगारदाता वा निजको प्रतिनिधिले स्वागत गरी कार्यस्थलमा लिएर जानुपर्ने व्यवस्था गरेको छ ।
समझदारीपत्रको प्रभावकारी कार्यान्वयन र कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने ‘आइटमगत’ लागत निर्धारण गर्नेलगायतका विषय दुई देशका प्रतिनिधि संलग्न संयुक्त बैठकबाट तय गरिने समझदारीमा उल्लेख गरिएको छ ।
वैदेशिक रोजगारीका नाममा हुने मानव बेचबिखन र मानव तस्करी रोक्ने विषयलाई पनि समझदारीले प्रष्ट पारेको छ ।
मरिससमा होटल, अतिथि सत्कार र उत्पादनमूकल क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली कामदारले रोजगारीको अवसर पाउने सम्भावना रहेको छ ।